भदौ १८, सोल । अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरीयाले आइतबार बिहान गरेको क्षेप्यास्त्र परीक्षण हाइड्रोजन बम भएको सङ्केत देखिएको छ । सो परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा यस कुराको पुष्टी भएको छिमेकी देशहरुले बताएका छन् ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरुले पनि उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल पनि भएको र जनाएका छन् । उत्तर कोरियाका छिमेकी देशहरु दक्षिण कोरिया र जापानले सो परीक्षणको पुष्टी भएको नै बताएका छन् भने चीनले पनि उक्त क्षेत्रमा आएको कम्पन सोही परीक्षणको कारण हुनसक्ने बताएको छ । सो परीक्षणका क्रममा छ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाइएको छ ।
बारम्बार क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको उत्तर कोरियाले केही समयमात्र अघि पनि अन्तरमहादशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको थियो ।
यस परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणा धेरै शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उत्तर कोरियाली नेताले आइतबार हाइड्रोजन बम निर्माणस्थलको निरीक्षण गरेको समाचार आएको थियो । त्यस लगत्तै यो कम्पन आएकोले सोही समयमा नै हाइड्रोजन सहितको क्षेप्यास्त्र परीक्षण गरिएको हुनसक्ने अनुमान गरिएको बताइएको हो ।
यसैबीच उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत हान्न मिल्ने खालको एक अत्याधुनिक हाइड्रोजन बम बनाएको पनि बताएको छ ।








