एक करोडमा एपी वानले किन्यो इपिएलको प्रसारण अधिकार

भदाै १५, काठमाडाैँ । आगामी डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) ले तीन वर्षका लागि प्रसारण अधिकार एपी वान टेलिभिजनलाई बेचेको छ। बुधबार राजधानीमा भएको सम्झौताअनुसार इपिएल प्रसारण गरेबापत एपी वान टेलिभिजनले आयोजकलाई एक करोड रुपैँया तिर्ने भएको छ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै इपिएलका संस्थापक अमिर अख्तरले प्रतियोगितालाई अन्तराष्ट्रिय स्तरको बनाउन यसले मदत पुर्‍याएको बताए। ‘२०१७, १८ र १९ मा आयोजना हुने इपिएलको प्रत्यक्ष प्रसारण एपी वानले गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘प्रत्येक वर्ष एपी वानले १० प्रतिशत रकम थप्दै जाने सम्झौतामा उल्लेख छ।’

सम्झौता अनुसार एपी वानले आयोजकलाई ५० लाख रुपैँया नगद दिनुका साथै ५० लाख बराबरको प्रायोजन कार्यक्रम गर्नेछ। प्रायोजन कार्यक्रम अन्तर्गत प्रतियोगिताको प्रचारप्रसार सहित सहभागी टोलीहरुको पनि प्रचारप्रसार रहेको अख्तरले उल्लेख गरे।

आयोजकले प्रसारण अधिकारवापत एपी वानबाट प्राप्त गर्ने ५० लाख नगद रकम इपिएलका टोलीहरुबीच बाँड्ने भएको छ। आयोजकसहित छ टोलीबीच ७ लाख १४ हजारका दरले उक्त रकम बाँडिने प्रेस विज्ञप्तिमा जनाइएको छ।

नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशीसहित एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो संस्करणको घोषणा गरिएको छ। गत महिना देशकै सर्वाधिक पुरस्कार राशी (२१ लाख) सहित प्रतियोगिताको लोगो सार्वजनिक गरिएको थियो।

देशका विभिन्न ६ वटा सहरका टोलीहरुलाई फ्रेन्चाइज बनाइ प्रतियोगिता आयोजना हुनेछ। छ फ्रेन्चाइज टोलीहरुमा काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखराको टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

 

सम्बन्धित शिर्षकहरु