भदौ १२, रोल्पा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले रोल्पाकाे जिल्ला शिक्षा अधिकारी चिरनजिवी पाैडेललाई कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।
आज बिहान करीब साढे सात बजे स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाएका हुन् । जिशिअ पौडेलले प्रतिबाद गर्दा हातपात समेत भएकाले पौडेलको टाउकोमा चोट लागेका कारण उनलार्इ उपचारका लागि जिल्ला अस्पताल रेउघा लगीएको थियो ।
विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजारसम्म घुस लिएको, विद्यालयको आवश्यकता भन्दा पनि फरक विषयका शिक्षक घुस खाएर नियुक्ति गरेको, घुस दिने शिक्षकलाई समयमै तलब निकासा गर्ने र अन्यको खाता रोक्का गर्ने गरेको, घुस लिएर शिक्षा ऐन विपरित शिक्षकको सरुवा गरेको लगायतका आरोप लगाउँदै अनेरास्वव्यु क्रान्तिकारीका कार्यकर्ताले पाैडेलमाथि दुर्व्यहार गरेका हुन् ।
कालो मोसो दले लगत्तै विद्यार्थीहरु त्यहाँबाट भागेका कारण उनीहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








