भदौ ११, काठमाडौं । अाज बिहान ४ बजे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका नेता एवम् जिल्ला सदस्य जमानसिंह वाइबाको घरमा स्थानीय प्रहरीले खानतलासी गरेको छ । वाइबा नेकपाका जिल्ला सदस्य हुन् ।
नेकपा रौतहटका ईञ्चार्ज विजयलाल सिंह र जिल्ला सेक्रेटरी विष्णु बरालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै भदौ ११ गते आइतबार बिहान ४ बजे जिल्ला सदस्य जमान सिंह वाइबाको घरमा खानतलासी गरिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको पक्षमा आन्दोलनरत हाम्रो पार्टीमा निरन्तर राज्यबाट आतंक मच्याइ रहेको छ । आज बिहानको त्यसैको निरन्तरता हो, जमानसिंह घेरा तोड्न सफल भएपनि घरका परिवारलाई हातपात लछारपछार र मानसिक यातना दिइएको छ ।’माओवादी केन्द्रका नेता समिर भट्टराईको निर्देशनमा प्रहरीले वाइबाको घर खानतलासी गरेको नेकपाले आरोप लगाएको छ ।








