उचित फोहोर व्यवस्थापनको अभावमा मेलम्ची बजार दुर्गन्धित

भदौ ९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नगरपालिकामा संकलित फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा मेलम्ची बजार निकै दुर्गन्धित भएको छ । संकलित भएको फोहोर जथाभावी नदी किनार र सार्वजानिक स्थानमा फाल्दा वातारण प्रदूषित हुनुको साथै विभिन्न रोगको प्रकोप फैलन थालेको छ ।

नगरपालिका घोषणा भएको तीन वर्ष बितिसक्दा पनि मेलम्ची नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसकेको देखिएको छ । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि गाडी उपलब्ध भएपनि फोहोर उठाउन छोडेको एक वर्ष भइसकेको छ । बजारको चोकचोकमा फालिएका फोहोरको थुप्रोका कारण रुघाखोकी, आउँ, हैजा, औलोजस्ता सरुवा रोगको प्रकोप बढेको छ ।”

फोहोर व्यवस्थापनका लागि भनेर नगरपालिकाको प्रत्येक वडामा फोहोर राख्ने ठाउँ बनाए पनि नगरपालिकाको गाडी अहिलेसम्म फोहोर लिन नआएको मेलम्ची नगरबासी बताउँछन् । मेलम्चीमा इन्टरनेट, वाइफाइभन्दा पनि पहिलो प्राथमिकता फोहोर व्यस्थापनलाई दिनुपर्ने मेलम्चीका स्थानीयवासीहरू बताउँछन् । बजारबाट संकलित फोहोर सिधै नदीमा मिसाउँदा बजारको तल्लो भेगमा बस्ने बासिन्दाले खानेपानीका रुपमा पिउने खोलाको पानी प्रदुषीत भएको छ ।

फोहोर व्यवस्थापनका लागि बजेट विनियोजन भएपनि फोहोरको व्यवस्थापन गर्न नसकेको कुरा मेलम्ची नगरपालिकाका हाल कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले स्वीकार गरेका छन् र फोहोर व्यवस्थापनका लागि डम्पिङ क्षेत्रको खोजी तथा अवलोकन भइरहेको उनले बताएका छन् । मेलम्चीमा फोहोर व्यवस्थापनका लागि पटकपटक कुरा चल्दा डम्पिङ क्षेत्रको अभाव भन्दै नगरपालिका पन्छिदै आएको स्थानीयवासीको अारोप छ ।

सम्बन्धित शिर्षकहरु