भदाै ५, असनेपाल न्युज । पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि पहिलोपटक घरेलु मैदानमा उत्रिएका नेमारले उच्च प्रदर्शन गरेका छन्। शनीबार राती घरेलु मैदान पार्क डे प्रिन्समा पिएसजीले टोलुसेलाई ६–२ ले पराजित गर्ने क्रममा नेमारले दुई गोल गर्दै घरेलु दर्शकलाई खुशी पारेका हुन्।
खेलमा अग्रता भने टोलुसेले लिएको थियो। खेलको १८ औं मिनेटमा गोल गर्दै म्याक्स ग्रेडालले सुरुवाती अग्रता दिलाए। पीएसजीका लागि बराबरी गोल नेमारले फर्काएका थिए। ३१ औं मिनेटमा नेमारले गोल गर्दै पिएसजीलाई खेलमा फर्काएका हुन्।
त्यसको तीन मिनेटपछि एड्रियन र्या्बियोटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएपछि पहिलो हाफमा पीएसजीले २–१ को अग्रता लियो। दोस्रो हाफमा मार्को भेराटीले दोहोरो पहेलो कार्ड पाएसँगै पिएसजी १० खेलाडीमा सिमित बन्यो तर नेमारको प्रेरणामा रहेको पीएसजीलाई त्यसले खासै असर गरेन्।
७५ औं मिनेटमा एडिसन काभानीले पेनाल्टीमा गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाएको तीन मिनेटपछि टोलुसेका लागि थियागो सिल्भाले गोल गर्दै हारको अन्तर घटाए। विपक्षीको गोलपछि पनि पीएसजी रोकिएन्। ज्यभियर पास्टोरेले ८२ औं र लेभिन कुर्जावाले ८४ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ५–२ को स्थितिमा पुर्याएका थिए।
इन्जुरी समयमा नेमार हावी रहे र घरेलु समर्थक बीच उनले पुनः एक गोल गरे। योसँगै नेमारले पीएसजीबाट दुई खेलमा तीन गोल गरिसकेका छन्। जीतसँगै फ्रान्सेली लिग वोनको अंक तालिकामा पीएसजी शीर्षस्थानमा छ। उसको तीन खेलबाट नौ अंक भएको छ। समान ९ अंक रहेपनि मोनाको गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। एजेन्सी








