चिनियाँ उपप्रधानमन्त्री भेट्न हिडेका प्रचण्ड, भारतको कार्यक्रममा पुगेपछि…

साउन ३२, काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई भेट्न हिडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झुक्किएर भारतको कार्यक्रममा पुगेपछि भारतीय अधिकारी चकित परेका छन् । भारतीय दूतावासले आफ्नो ७० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा आमन्त्रण बिनानै नेपालको शीर्ष नेतामध्येका एक प्रचण्ड ‘विन बुलाए मेहमान’ बनेर पुगपछि भारतीय अधिकारीमात्रै होइन् माओवादीकै नेता एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र पर्यटनमन्त्री जितेन्द्र देव समेत आश्चर्यमा परेका हुन् ।

होटल सोल्टीमा बसिरहेका याङले प्रचण्डसँग भेटका लागि हिजो दिउँसो ३ बजेदेखि ३ः४० सम्मको समय दिएका थिए । होटल सोल्टीमै त्यसभन्दा अगाडि २ बजेदेखि भारतीय दूतावासको कार्यक्रम सुरु भइसकेको थियो  । भुइँतलाको माधवी हलमा नेपालका उपप्रधानमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा भारतीय दूतावासले स्थापना दिवस मनाइरहेको थियो ।

होटल सोल्टी कै मेगा हलमा चिनियाँ उपप्रधानमन्त्री याङलाई भेट्न माओवादी नेताहरु देव गुरुङ, शक्ति बस्नेत, अग्नि सापकोटा, पम्फा भुसाल, टोपबहादुर रायमाझी र मातृका यादव पहिले नै पुगेर प्रचण्डको प्रतिक्षामा थिए । प्रचण्ड नारायणकाजी श्रेष्ठका साथमा दिउँसो २ बजेर ५५ मिनेटमा होटल सोल्टीमा पुगेर, चिनियाँ उपप्रम भेट्न भुइँतलामा रहेको मेगा हलतर्फ अघि बढ्दा ढोकामा खटिएका चिनियाँ दूतावासका कर्मचारी र सुरक्षाकर्मीले उनलाई मेगा हलतर्फ इशारा गरे । प्रचण्डले चिनियाँ दूतावासका कर्मचारीको इशारातर्फ ध्यानै नदिइ फटाफट हिँड्दै केही पाइला अगाडि भारतीय दूतावासको कार्यक्रम भइरहेको माधव हलमा छिरे ।

निमन्त्रणा नै नगरिएको कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री स्वाट्टै छिरेपछि भारतीय राजदूत र त्यहाँ उपस्थित अन्य अतिथि अक्क न बक्क भए । भित्र छिर्दा भारतीय अधिकार देखेपछि आफू गलत स्थानमा आएको थाहा पाएपछि प्रचण्ड हत्तपत्त बाहिरिए निस्केर  चिनियाँ दूतावासका कर्मचारी र सुरक्षाकर्मीका साथमा मेघा हलतिर गएका थिए ।

सम्बन्धित शिर्षकहरु