
साउन २८, काठमाडौं । देशभरका नदीनालाहरूमा पानिको बहाव बढीरहेको बेला सरकारले सबैलाई सतर्क रहन आग्रह गरेको छ । शनिबार मौसममा बदली भई देशैभर वर्षा हुने बाढी पूर्वानुमान शाखाले जनाएको छ । पश्चिमममा महाभारत र चुरे क्षेत्रबाट बहने नदी तथा खोलाहरुमा शनिबार बेलुकासम्म बहाव उच्च हुने हुुँदा सतर्क रहन बाढी पूर्वानुमान शाखाले आह्वान गरेको हो । शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
‘भिषण बाढी हुने देखिएकाले कन्काई नदीको तल्लो तटीय डुबान भइराख्ने क्षेत्रमा बस्नेहरुलाई सुरक्षित स्थानमा रहनुहुन यो विशेष बुलेटिन जारी गरिएको छ,’ बाढी पूर्वानुमान शाखाले भनेको छ । कन्काईमा जलसतह ३.७ लाई सतर्कता र ४.२ लाई खतराको तह निर्धारण गरिएको छ ।
पश्चिम राप्ती, बबई, बाणगंगालगायत नदीमा जल सतह बढ्दो क्रममा छ । भारी वर्षा हुने भएकाले पूर्वका कन्काई, कोशी, कमला, बिरिङ, त्रियुगा, बाग्मती, खाडो, रातु, लालबकैया र पूर्वी राप्तीमा बाढीका कारण पानीको सतह बढेकाले जोखिम बढेको छ । बाढी पूर्वानुमान शाखाले गरेको विशेष अपिल अनुसार कन्काई नदीको मैनाचुलीस्थित केन्द्रमा जलसतहले खतराको तह पार गरिसकेको छ ।








