साउन २८, चितवन । दुई दिनदेखि परेको अविरल वर्षाले चितवनको माडी नगरपालिकास्थित २०० घर डुबानमा परेको छ । स्थानीय रिउ खोलामा आएको बाढीले इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० बिन्दुमा पुगेपछि स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान अाग्रह गरीएको थियो । राति नै डुबानमा परेका घरबाट स्थानीयवासी अग्ला ठाउँमा गएर बसेका छन् ।
माडी नगरपालिका वडा नं १, २, ४ र ६ का पूरै तथा वडा नं ३ र ४ का केही भाग डुबानमा परेका छन् । बाढीले कुन्तीपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा क्षति पुर्याएको छ । ठूलो मात्रामा धान खेत डुबाएको स्थानीयवासीले बताएका छन् । ती ठाउँमा मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । डुबानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, स्थानीयवासीसहित निकुञ्जका सात हात्ती उद्धारमा परिचालन गरिएको छ ।








