रेणु दाहालको राजनीतिक पृष्ठभुमी

साउन २२, चितवन । भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुनुहुन्छ । २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिनुभएकी उहाँ २०५१ सालमा पार्टी प्रवेश गर्नुभएको थियो भने २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै  उहाँ भूमिगत हुनुभएको थियो ।

दाहाल काठमाडौँका जिल्ला सहसचिव हुँदै हाल पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसक्नुभएकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव हुनुहुन्छ ।

पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् हुनुभएकी उहाँ दोस्रो संविधानसभाको निर्वाचनमा भने काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित हुनुभएको थियो ।

उहाँ भरतपुर महानगरपालिका–१० मा बस्दै आउनुभएको छ । जिल्ला बाहिर बसेर राजनीति गर्दै आउनुभएकी दाहालका लागि चितवनको राजनीति भने नयाँ हो । बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लाग्नुभएकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउनुहुन्छ । नेपाली काँग्रेसको प्रभाव रहेको महानगरमा काँग्रेसकै समर्थन पाएपछि दाहाल प्रमुखमा विजयी हुनुभएको हो ।

 

सम्बन्धित शिर्षकहरु