साउन ७, काभ्रे । शुक्रबार राति बनेपाको गौतम भोजनालयमा भएको एकै परिवारका बावु ,आमा छोरा र छोरीको मृत्यु भएको वास्तविक कारण पत्ता लाग्न नसक्दा काभ्रे घटना अझै रहस्यमय रहेको छ । टुकुचा नाला ढुडामुखका बर्ष ६५ का हरिभक्त दाहाल उनकी श्रीमती ६० बर्षीय हरिमाया दाहाल उनका छोरा ३२ बर्षीय राजाराम दाहाल र उनकी छोरी २५ बर्षीय रन्जना दाहाल आफैँले संचालन गर्दै आएको होटलमा मृत भेटिएका थिए ।
भित्रबाट सटर बन्द गरि ताल्चा लगाइएको सटर मुन्तिर सिसा फुटेको देखेपछि स्थानीयले प्रहरीमा खवर गरेका कारण प्रहरीले ताल्चा फुटाएर हेर्दा दाहाल परिवारका ४ सदस्य मृत अवस्थामा भेटिएका थिए । बनेपा नयाँ बसपार्कमा होटल व्यवसाय गर्दै आएका राजाराम दाहालका दुई श्रीमती रहेको जानकारी प्राप्त भएको छ ।
उनका एक छोरा र एक छोरी छन् भने राजारामकी कान्छी श्रीमती पुजा दाहाल बनेपामा राजारामसँगै होटल संचालन गर्दै आएकी थिइन् । सासु सुसुरा पनि गाउँमै बस्दै आएपनि छोराले बनेपामा केही समय अघि घर बनाएपछि शहरमै छोरा बुहारीसँगै बस्दै आएका थिए ।
दुई श्रीमति मध्ये जेठी श्रीमती ११ बर्ष अघिदेखि भिन्न बस्दै आएकी थिइन् । छोरा जन्मिएको ६ दिनमै श्रीमानले कान्छी विवाह गरेपछि उनी भिन्न बस्दै आएकी थिइन् । उनी बनेपादेखि ८ किलोमिटर पूर्व पर्ने गाउँ टुकुचा नालामा बस्दै आएकी थिइन् ।








