असार ३०, खोटाङ । दलित भए पनि गैरदलितसँग विवाह अन्तरजातीय गरेर जीवन निर्वाह गरिरहेका खोटाङका सात जोडीलाई जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो ।
दलित विकास मञ्चले रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र विश्वकर्मा रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, मझुवागढी नगरपालिका–२ सोल्माका सरोजकुमार विश्वकर्मा र ईश्वरी सुवेदी, दिप्रुङ गाउँपालिका–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, र सुशिला मगर तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान गरेको छ ।
समाजमा अन्तरजातीय विवाह गरेर नमुना जोडीका रुपमा सङ्घर्ष गरिरहेका ति जोडीलाई सम्मानस्वरुप जिल्ला समन्वय समितिले एकमुष्ट रु २५ हजार प्रदान गरिएको मञ्चका अध्यक्ष मिलन चाहारले बताए ।
यसैबीच, मञ्चले दलित समुदायबाट जनप्रतिनिधिका रुपमा निर्वाचित भएका ६२ जनालाई बधाई तथा शुभकामना दिएको छ । जिल्लामा दलित समुदायबाट निर्वाचित ९१ जना जनप्रतिनिधिमध्ये ६२ जनालाई बधाई तथा शुभकामना दिइएको मञ्चले जनाएको छ । दलित समुदायबाट नवनिर्वाचित जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिका संयोजक राजनकुमार बिसी लगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । रासस








