असार ५ ।काठमाडौँ,ज्योतिषीले दिएको साइत अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान बालुवाटार सर्नुभएको छ ।प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको हो ।
प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै उहाँ बिहानै पूजापाठ गरी सर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।
बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए र उहाँको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सर्नुभएपछि खाली रहेको बालुवाटारको सरकारी निवासमा प्रधानमन्त्री देउवा सर्नु भएको हो ।








