असार ३ । काठमाडौँ, शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले ठूला दलले मधेस र थरुहटलाई एक हुन नदिन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । महतोले आफुहरूको माग पुरा नभए दोस्रो चरणको चुनावमा कुनै हालतमा भाग नलिने बताएका छन् । उनले मधेसी तथा आदिवासी जनताले अधिकार प्राप्तिको लागि सहादत दिएको कुरा लत्याएर कोही पनि अघि बढ्न नहुने धारणा राखे । प्रमुखतीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेको भन्दै उनले त्यसलाई रोक्न आन्दोलनमा गएको दाबी गरे ।
उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने निर्णयमा आफूहरुको कुनैपनि सहमति नरहेको जिकिर गरे । सरकारलाई मुर्खको संज्ञा दिँदै भने, ‘अरे, मुर्ख १ हदको पनि सीमा हुन्छ नि, २ नम्बर प्रदेशमात्रै मधेश हो र ?’ उनले तीन ठूला दल र सरकारले फुटाउ र शासन गर भन्ने नीति लिएको समेत आरोप लगाए ।
ठूला दलले मधेश र थरुहटलाई एक हुनन दिन षड्यन्त्र गरिरहेको आरोप लगाउँदै भने, ‘यो के गर्न खोजेको हो ? मधेस र थरुहट एक हुनै नदिने ? मैले हजारचोटी भनिसकें, तीन ठूला दल भनेको खसवादी, हठवादी हुन्, यीनीहरुले मुलुकलाई समस्यामा फसाउने कामगरिरहेका छन् ।’ महतोले आफूहरुले संवैधानिक घेराभित्र रहेर संघर्षका आन्दोलनहरु सार्वजनिक गरेको समेत दाबी गरे ।








