३१ जेठ, रौतहट । राजपाले आव्हान गरेको बन्दको आज दोस्रो दिन पनि रौतहटको जनजीवन प्रभावित भएको छ । गौरको सिसुवाचोकमा प्रहरी र बन्द आह्वानकर्ता राजपाबीच झडप भएको छ । झडपका कारण सिसुवाचोकको अवस्था तनावग्रस्त भएको छ ।
झडपमा एक प्रहरी जवान घाइते हुनुका साथै राजपाका तीन कार्यकर्ता पक्राउ परेका छन् । मोर्चाका कार्यकर्ताहरुले प्रहरी सवार भारतीय नम्बरको गाडी तोडफोड गर्दा झडप भएको हो । राजपा कार्यकर्ताको आक्रमणबाट प्रहरी जवानको एउटा हात भाँचिएको छ ।
प्रहरी नियन्त्रणमा पर्नेहरुमा रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादव रहेका छन् । त्यस क्षेत्रमा सशस्त्र प्रहरी नेपाल र म्यादी प्रहरीहरुलाई खटाइ सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनाव बहिस्कारको निर्णय गरेको राजपाले चारदिने बन्द आह्वान गरेको हो । बन्द अवज्ञा गरेको भन्दै राजपाले ना ३ ख ५६२२ नम्बरको यात्रुबस पनि तोडफोड गरेका छन् ।








