रमा सापकोटा । जेठ ३० ।काठमाण्डौ, जङली च्याउलेले धेरैको देहलिला समाप्त पारिदिएको छ । यस बिषयमा टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाइनका शीर्ष समाचार पनि नबनेका होइनन् ।
तर पनि यो खबरप्रति बेखबर बनेर आज सम्म धेरै मानिस जंगली च्याउ खान छाडेका छैनन् । दुःख, गरिबी, विपन्नताको आहालमा चुर्लुम्म डुबेकाको छाक टार्ने सामग्री पनि च्याउ नबन्ने होइन ।
यसैबीच पाल्पाको निस्दी गाउँपालिका-४ भिरपानीमा जङ्गली च्याउ खाएकै कारण थप २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा सोमबार साँझ ४५ वर्षीया रिखिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
शुक्रबार बिहान घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा बिरामी परेकामध्ये एकै घरका दुई जनाको मृत्यु भइसकेको छ भने एकजनाको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ ।
आइतवार राति ४ वर्षीय रुपेश गाहाको उपचारको क्रममा मृत्यु भएको हो । च्याउ सेवनबाट बिरामी हुनुभएका २१ वर्षीया इनमाया गाहाको अहिले उपचार भइरहेको छ ।
यसअघि, अर्को घटनामा जङ्गली च्याउ सेवनकै कारण रामपुर नगरपालिका-३ गैलुकमा एक हप्ता अघि पाँचजनाको मृत्यु भएको थियो । यस्ता घटना घट्न नदिनको लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले प्रभावकारी सचेतनात्मक कार्यक्रमहरु दुर्गम जिल्लाका गाँउ र ठाँउमा लैजानु पर्ने टड्कारो आवश्यक्ता देखिन्छ ।








