लिवियाली शासक गद्दाफीका छोरा सेफ अल इस्लामलाई रिहा

जेठ २९ ।त्रिपोली (लिविया), सत्ताच्युत गरिएका लिबियाका दिवंगत शासक कर्णेल गद्दाफीको उत्तराधिकारीका रुपमा हेरिएका गद्दाफीका दोस्रो छोरा सेफ अल इस्लामलाई एक माफी सहमति अन्तर्गत पाँच बर्षपछि जेलबाट रिहा गरिएकोे छ ।

पश्चिमी लिबियाको जिन्तान नगरमाथि नियन्त्रण गरेको एक लडाकु समूहले इस्लामलाई शुक्रबार रिहा गरेको बताइएको छ । लिबियामा भएको क्रान्तिका क्रममा सन् २०११ मा कर्णेल गद्दाफी मारिए लगत्तै सेफ अल इस्लामलाई पक्राउ गरिएको थियो ।
सन् २०१५ मा त्रिपोलीस्थित एक अदालतले तत्कालीन सत्ताविरुद्धको आन्दोलनलाई दबाउने विफल प्रयासका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उहाँलाई मृत्युदण्ड सुनाएको थियो ।
झण्डै छ बर्षसम्म लडाकूको नियन्त्रणमा रहेपछि उहाँलाई छोडिएको हो । उहाँमाथि युद्ध अपराध तथा मानवताविरुद्ध अपराधका मुद्दामा हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतले भने उहाँको खोजी गरिरहेको छ ।
यसअघि पनि उहाँको रिहाइका खबरहरु सार्वजनिक भएका थिए तर ती सवै झुटा सावित भएका थिए । इस्लामलाई एक प्रबुद्ध व्यक्तित्वका रुपमा हेरिन्छ । उहाँले लण्डन स्कूल अफ इकोनोमिक्समा विद्यावारिधी गरेको बताउने गरिएको छ तर उहाँको प्रमाणपत्रबारे विवादास्पद टिप्पणी पनि आउने गरेका छन् । गद्दाफीका अन्य सात छोराहरू भने आन्दोलनका समय मारिएका थिए ।
दशकौं लामो गद्दाफी शासन आन्दोलनको बलमा अन्त्य भएपछि लुक्दै बसेका पूर्व शासकका छोरा सेफ अल–इस्लाम तीन महिनापछि समातिनुभएको थियो ।
सन् २००० पछि पश्चिमा मुलुकहरुसँग लिबियाको सम्बन्ध बढाउने कार्यमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । आफ्ना बावुको शासनकालमा उहाँलाई एकजना सुधारवादी नेताका रुपमा लिइन्थ्यो । अल-इस्लाम समातिएपछि उहाँसहित गद्दाफीका ३० जना सहयोगीविरुद्ध मुद्दा चलाइएको थियो ।
यता रिहाइबारे त्रिपोलिस्थित सरकारी पक्षबाट कुनै पुष्टि गरिएको छैन ।

सम्बन्धित शिर्षकहरु