जेठ २८ । काठमाडौं,सरकारले आफ्ना राजनीतिक मुद्दा सम्बोधन नगरेको प्रति आपत्ति जनाउदै राजपा अब आन्दोलनतिर होमिने भएको छ । सरकारसँगको छलफल निष्कर्षविहीन भएपछि राजापाका नेताहरुले यस्तो निर्णय गरेका हुन । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा राजापाका नेताहरुले यतिबेला छलफल गरिरहेका छन ।
नयाँ रणनीति बनाउन छलफलमा जुटेका उनीहरुले दोस्रो चरणको चुनावमा सहभागी नहुने बताएका छन् । असार १४ को चुनाव सार्न माग गरेको राजपाले चुनावलाई प्रभावित पार्ने गरी आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गर्ने तयारीसमेत गरेको छ । राजपाको माग सत्तारुढ कांग्रेस-माओवादीका नेताहरुले ठाडै अस्वीकार गरिसकेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिबार र आइतबार दुई दिनसम्म बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठक निष्कर्षविहीन भएको थियो । सबै प्रदेशको चुनाव सार्न नसकिए २ नम्बर प्रदेशको मात्रै भए पनि चुनाव सार्नुपर्ने राजपाको माग छ ।








