२४ जेठ काठमाडौँ, । वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्यालाई चाँडो समाधान गर्नेश्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ ।
आज मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री मन्सुरले खाडी मुलुकको समस्या समाधानका लागि आफूले सक्ने काम आफूले गर्ने र नभए मन्त्रिपरिषद्को बैठकमा लगेर भए पनि समाधान गर्ने बताउनुभयो । उहाँले आफू जनताको प्रतिनिधिको हैसियतले मन्त्री बनेको बताउँदै जनतालाई सेवा पुर्याउने काममा लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो । साथै उहाँले पारदर्शी तरिकाले काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।
विसं २०११ मा बारा जिल्लाको भवानीपुर वडा नं ३ मा जन्मनुभएका मन्सुर १६ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको राजनीतिमा लाग्नुभएको थियो । विसं २०२८ मा भारतको पटनामा विश्वेश्वरप्रसाद कोइरालाको हातबाट नेपाली काँग्रेसको सदस्यता लिनुभएका मन्सुर विसं २०३४ देखि ०३६ सम्म काँग्रेस बाराको सहसचिव बन्नुभएको थियो ।
विसं २०३६ देखि २०४७ सम्म जिल्लाको सचिव, २०४८ देखि २०५७ पार्टी सभापति हुँदै विसं २०५७ मा काँग्रेसको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्नुभएको थियो । पटकपटक जेल पर्नुभएका उहाँ विसं २०५६ मा भएको आमनिर्वाचनमा बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको सदस्य चुनिनुभयो । यस्तै, विसं २०७० मा भएको दोस्रो संविधानसभाबाट सभासद् बन्नुभएका उहाँ विसं २०६४ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको थियो । रासस








