संसद बैठक २१ गतेलाई सर्‍यो

काठमाडौं, १७ वैशाख–स्थानीय तहको चुनाव र संविधान संशोधनमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीले २१ वैशाखसम्मलाई समय दिएकी छन् । संविधान संशोधन गर्ने तयारी भइरहेका बेला आइतबार बसेको संसद बैठक एकाएक कार्यसूचीमै प्रवेश नगरी वैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ ।
नेपाली कांग्रेसका पूर्वसांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक २१ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ गठबन्धनले जसरी पनि संविधान संशोधन प्रस्ताव तयारी गरेको र त्यसलाई जसरी पनि रोक्ने विपक्षीको योजनाका बीच संसद बैठक स्थगित भएको हो ।

संविधान संशोधन नभई मधेसी मोर्चा स्थानीय तहको चुनावमा नआउने अडान लिएको छ । प्रतिपक्ष एमाले पछिल्लो समय एकैचरणमा चुनाव गर्नुपर्ने र संविधान संशोधन कुनैपनि हालतमा गर्न नदिने अडानमा छ । १९ गते पहिलो चरणको चुनावका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । यिनै संशयका बीच स्थानीय तहको चुनाव नहुने हो कि भन्ने आशंका बढेको छ ।१९ गतेअघि नै संशोधन पास गर्नुपर्ने मधेशी मोर्चाको माग तत्काललाई टरेको छ । सत्तारुढ दलका नेताहरुले संविधान संशोधनको पक्षमा दुई तिहाई पुगेको दाबी गरिरहेकै बेला बैठक सरेको छ ।

सम्बन्धित शिर्षकहरु