सेतो मच्छिन्द्रनाथको प्राणप्रतिष्ठा गरियो

काठमाडौं । जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरमा आज मच्छिन्द्रनाथको प्राणप्रतिष्ठा गरिएको छ ।

विधिविधानपूर्वक पूजा गरी मन्दिरमा मूर्ति प्रतिस्थापन गरेपछि मूर्तिमा जीवन्यास तथा प्राणप्रतिष्ठा गरिएको हो । सो स्थानमा भएको मूर्तिलाई जात्राका क्रममा त्यहाँबाट निकालिएकाले सर्वसाधारणले एक सातादेखि कलशमा पूजा गर्दै आएका थिए ।

सेतो मच्छिन्द्रनाथको जात्राका लागि चैत शुक्ल अष्टमीका दिन मन्दिरबाट मूर्ति निकालिएको थियो । यस वर्षको जात्राको अन्तिम दिन धार्मिक गतिविधि पूरा गराएपछि अघिल्लो दिन मूर्तिलाई खटयात्रा गर्दै जनबहालमा लगिएको थियो ।

उक्त अवसरमा मूर्तिलाई मन्दिरबाट बाहिर बस्नुपरेकाले अब बिघ्नबाधा आइनपरोस् भनेर क्षमा पूजासमेत गरिएको थियो । मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएपछि आज दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो ।

सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका प्रतिनिधि विनोद तुलाधरले मच्छिन्द्रनाथको सद्भाव र करुणाका देवता भएकाले पनि सो पूजामा सहभागी भएमा पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास व्यक्त गरे । रासस

सम्बन्धित शिर्षकहरु