काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले एमालेले २७ गते हेटौँडाबाट मेची–महाकाली अभियान सुरु गर्ने र सभा कसैलेपनि रोक्न नसक्ने बताए ।
बुधबार रिपोर्टस क्वबमा आयोजित साक्षात्कारमा उनले प्रश्न गरे, “हामी सभा गर्छौं, कसैले पनि रोक्न सक्दैन्, लोकतन्त्रमा आफ्नो कुरा राख्न नपाउने भन्ने हुन्छ ?”
एमाले तराईसमेत जाने स्पष्ट पार्दै भने, “हामी २७ गतेबाट अभियान सुरु गर्छौं, अब चितवन हुँदै हामी पश्चिमतिर लाग्छौं, तर हामी २ नम्बर प्रदेशमा पनि कार्यक्रम गर्छौं, अहिलेलाई स्थगित गरेको मात्रै हो, किनकि हाम्रो निर्धारित कार्यक्रम भएकोले २७ गते हामी हेटौडौं जान्छौं, ” उनको प्रष्टोक्ति थियो ।
उनले आफ्नो पार्टीका बारेमा मधेसी जनताकाबीचमा भ्रम फैलाउने काम गरिएकोले उक्त भ्रम चिर्नको लागि पनि आफूहरू मधेस झरेको स्पष्ट पारे । उनले भने, “संविधान कार्यान्वयन गर्नुपर्छ, र त्यसको लागि निर्वाचन गर्नुपर्छ, हामी त्यसैको लागि अभियानमा छौं ।”
आफूहरूको अभियान देखेर मधेसी मोर्चा आत्तिएको र सप्तरीमा त्यस्तो घट्ना घटाइएको उनको आरोप थियो । आचार्यले जोड दिए, “मोर्चाले षड्यन्त्र गर्यो, सरकारले साथ दियो ।”
उनले सभा भाँड्ने काम पनि मोर्चा र सरकारको मिलेमतोमा भएको जिरह गरे । आचार्यले थपे, “हाम्रो सभामा १० हजार मानिस थिए, हामीले चाहेको भए सशक्त प्रतिकार गर्न सक्थ्यौं, तर हामी क्षति नहोस् भन्नेमा सचेत थियौं ।”
उनले एमाले कुनैपनि हालतमा संविधान संशोधनको पक्षमा नरहेको जिकिर गर्दै भने, “हामी संविधान संशोधन प्रस्तावको पक्षमा छैनौं, हामीलाई स्वतन्त्र अधिकार छ नि ! संविधान संशोधन प्रस्ताव मधेसीको हितमा छैन ।” उनले मधेसी जनता यो देशका सच्चा नागरिक भएको बताउँदै भने, “मधेसी जनता सच्चा देशभक्त हुनुहुन्छ, उहाँहरुले सीमाको सुरक्षा गर्नुभएको छ, तर मधेसी नामधारी पार्टीले जनताको नाममा गलत कुत्य गरिरहेको छ ।








