सिन्धुपाल्चोक । भूकम्पले क्षतविक्षत बनाएको सिन्धुपाल्चोकमा पुनःनिर्माणले अझै गती लिन सकेको छैन । ०७२ वैशाख १२ र त्यसपछिको परकम्पबाट ध्वस्तप्रायः बनेको सिन्धुपाल्चोकमा १० प्रतिशत पनि घर नबनेका हुन् ।
सरकारले तयार पारेको मापदण्ड बमोजिम घर बनाउँदा लागत बढी लाग्ने र सरकारले दिएको अनुदानले नपुग्ने भएपछि पीडितहरूले घर बनाउन आनाकानी गरेका हुन् ।
“सरकार दिएको पहिलो किस्ता त घडेरी खार्दै सकियो, अब कुन रकमले घरको जग हाल्ने हो, अन्योलमा छौँ,” बाँसबारीका दलवीर माझीले जानकारी दिए ।
त्यस्तै टीकाराम माझीले पनि सरकारले दिएको पैसाले घर बनाउन नपुग्ने बताउँछन् । २५० घरधुरी रहेको माझी बस्तीमा हालसम्म १५ घर बनेका छन् । “यो पनि संस्था आएर बनाइ दिएको हो, हामीले भए के सक्थ्यौँ !,” उनले भने ।








