तत्काल निर्वाचनको मिति घोषणा गर्न मागः अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने – मुलुकको सङ्क्रमणकाल टुग्याउन सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्दछ ।

अध्यक्ष ओलीले निर्वाचन गरेर सङ्घीय संसद्, प्रादेशिक संरचना र स्थानीय सरकार गठन भएपछि मात्र सङ्क्रमणकाल टुङ्गिन्छ भन्दै “अहिले सरकारको प्राथमिकता संविधान संशोधन गर्नुभन्दा देशको सङ्क्रमणकाल टुङ्ग्याउने हुनुपर्दछ, तर सरकारले जे गर्नुपर्ने हो त्यो गरेको छैन, जे नगर्नुपर्ने हो त्यो गरेको छ बताउनुभयो ।”

सीमाङ्कनको संशोधन अहिलेको व्यवस्थापिका–संसद्ले गर्न नमिल्ने बताउँदै उनले अरुको स्वार्थका लागि सरकारले निर्वाचन गराउनतर्फ नलागेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रदेश नं ५ का सांसद र जनताले पहाड र तराईलाई अलग गर्न हुँदैन भनिरहेको बेला सरकारले अरुको कुरा बोकेर संविधान संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाउँदै “प्रस्ताव दर्ता गर्ने दलका सांसदलेसमेत पहाड र तराई टुक्रिने हो भने यसको विपक्षमा मत हाल्ने भनिरहेका छन् भन्नुभयो ।”

अहिलको सरकारले नक्कली पहिचानको नारा लगाइरहेको बताउँदै उनले भने, “पहिचानको वकालत गर्ने प्रधानमन्त्री दाहाल भारत जाँदा आफै नेपाली पोसाक लगाउनुभएन ।” अध्यक्ष ओलीले नक्कली पहिचानको कुरा गरेर अहिले नेपाली जनतालाई अगाडि बढ्न र देशलाई समृद्धि बनाउन नदिने छलकपट भइरहेको बताए ।

अघिल्लो सरकारले बनाएको निर्वाचनसम्बन्धी ऐन, कानुनलाईसमेत सरकारले बेवास्ता गरेको उनले आरोप लगाए ।
कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वाधीनतालाई समाप्त पार्ने र मुलुकलाई असफल पार्ने दिशामा सरकार लागेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता सबल बनाउने अभियानमा एमाले रहेको बताए।

सो अवसरमा एमालेमा प्रवेश गर्नुभएका सङघीय समाजवादी फोरमका पाँच केन्द्रीय सदस्यसहित ९२ जनालाई अध्यक्ष ओलीले टीका लगाई स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गर्नेहरुमा फोरमका वीरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईं, राजेन्द्रप्रसाद खनाललगायतका छन् ।

कार्यक्रममा बोगटी र प्रसार्इंले राष्ट्रिय स्वाधीनता र राष्ट्रभक्ति अडानका कारण आफूहरु एमालेमा प्रवेश गरेको बताए ।

सम्बन्धित शिर्षकहरु