प्रधानमन्त्रीलाई सहिद तथा बेपत्ता परिवारले भेटे

prachanda-e1468313799387भदौ १ । काठमाडौँ, जनयुद्धका क्रममा बेपत्ता पारिएका नागरिक सार्वजनिक गर्नुपर्ने तथा सो क्रममा मृत्यु भएकालाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्नेलगायत माग राख्दै सहिद तथा राज्यद्वारा बेपत्ता परिवारले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

सहिद, बेपत्तायोद्धा, घाइते तथा अपाङ्गता भएका योद्धाका परिवारको अभिभावकत्व राज्यद्वारा ग्रहण गरी उनीहरुको तत्काल निःशुल्क शिक्षा, स्वास्थ्य उपचार एवम् रोजगारीको व्यवस्थाका साथै आर्थिक राहतको व्यवस्था गर्नुपर्नेलगायत ११ बुँदे माग राख्दै राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष अशोक रोकाय र जनक्रान्तिका महान् सहिद परिवार समाजका अध्यक्ष खुमा सुवेदीसहितको टोलीले प्रधानमन्त्रीलाई आज भेटेको हो ।

ज्ञापनपत्रमा आर्थिक राहतका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको झन्झटिलो प्रक्रिया खारेज गरी पायक पर्ने बैंकमार्फत राहत रकम सिधै उपलब्ध गराउनुपर्ने, सहिद, बेपत्ता योद्धाका परिवार तथा घाइते तथा अपाङ्गता भएका योद्धाको परिचयपत्र बनाई लागू गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्नेलगायत माग समावेश छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सबै माग पूरा गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको समाजका सल्लाहकार एकराज भण्डारीले जानकारी दिए।

प्रधानमन्त्रीले अन्य सहिद परिवार सरह जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई पनि रु १० लाख दिने निर्णय भएको भन्दै सो कार्यान्वयन गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको सल्लाहकार भण्डारीले बताए ।

यसअघि सहिद तथा बेपत्ता परिवारले दुई किस्ता गरेर रु पाँच लाख पाएकामा बाँकी रु पाँच लाख दिइने प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्रीले समाजका पदाधिकारीलाई जानकारी दिएका थिए।

समाजले ३९ औँ प्रधानमन्त्रीका रुपमा दाहालले कार्यकाल सम्हालेकोमा बधाई तथा शुभकामनासमेत दिएको थियो ।

सम्बन्धित शिर्षकहरु