भूकम्पपीडितको ७९ लाख किलो चामल गोदाममा

chamal-1काठमाडौं । भूकम्पलगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्‍याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो । तर, आपत्का वेला छिमेकीले दिएको चामलसमेत जनतालाई बाड्न नसकेर सरकारले खाद्य संस्थानको तीनवटा गोदाममा थन्क्याइराखेको छ आजको त्यसैगरी चीनले पनि एक लाख किलो चामल दिएको थियो । त्यो चामल पनि खाद्य संस्थानको काठमाडौंको गोदाममा छ । भूकम्पपीडित भोकै रहादा पनि सरकार चामल कहिले कुहिएला भनेर पर्खिरहेको देखिन्छ । अन्तर्राष्ट्रिय सहयोगको चामल वितरण नगरी राख्दा कुहिएपछि विश्व खाद्य कार्यक्रमले पनि खाल्डो खनेर पुर्दै आएको छ । विश्व खाद्य कार्यक्रमले मंगलबार मात्रै सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो कुहिएको चामल खाल्डो खनेर पुरेको थियो । यसअघि सो संस्थाले सिन्धुपाल्चोककै खाडीचौर र भीमटारमा मात्र होइन काभ्रे, धादिङ र गोरखामा पनि चामल नष्ट गरिसकेको छ ।

किन थुप्रियो चामल ?
भूकम्पपछि देशभित्र आपूर्तिको सबै व्यवस्था मिलाउने जिम्मा वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिएको थियो । मन्त्रालयका तत्कालीन एक सहसचिवका अनुसार ढुवानी खर्च विवादले लामो समयसम्म राहतको चामल भन्सार कार्यालयमा नै अड्कियो । सरकारले राहत सामग्रीमा भन्सार छुट दिए पनि ढुवानी खर्च विवाद पछिसम्मै रहेको उनको भनाइ छ । ‘बंगलादेशबाट आएको चामल गोरखा लैजाने तयारी भएको थियो, तर ढुवानी खर्च हिसाब गर्दा त्यतै किनेर बाँड्दा सस्तो पर्ने देखियो,’ ती सहसचिवले भने, ‘ढुवानी भाडाको विवाद लामो समयसम्म चल्यो । हामीले टुंगो लगाउन सकेनौँ, चामल खाद्य संस्थानमा लगेर गोदाममा थन्क्याएका हौँ ।’

अहिलेसम्म के–के बाँड्यो सरकारले ?
सरकारले भूकम्प गएको सुरुका तीन महिनामा ५८ जिल्लामा चामल, दाल, पिठो, ड्राइफुड तथा अन्य सामग्री वितरण गरेको थियो । तीमध्ये भूकम्पबाट बढी प्रभावित २२ जिल्लामा एक लाख २६ हजार एक सय २२ क्विन्टल चामल वितरण भएको गृह मन्त्रालयको तथ्यांक छ । २२ जिल्लामा तीन हजार ६ सय एक क्विन्टल नुन, २० हजार पाँच सय क्विन्टल चिउरा तथा एक लाख १३ हजार दुई सय २८ कार्टुन पानी वितरण गरिएको विवरण राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रसँग छ ।

मागेको वेला दिन्छौँ :  खाद्य संस्थान
खाद्य संस्थानले विभिन्न देशको सहयोगको चामल सुरक्षित रहेको र सरकारले मागेको वेला तत्काल उपलब्ध गराउने जनाएको छ । ‘तीनवटा गोदाममा हामीले चामल थन्क्याएका छौँ, सरकारले मागेको वेला हामी फिर्ता गर्न सक्छौँ,’ संस्थानका एक अधिकारीले भने, ‘आधुनिक डिपोमा चामल सुरक्षित नै रहन्छ, किरा पर्दैन । तीन–चार वर्ष ढुक्कले राख्न सकिन्छ ।’ तर, बंगलादेश र चीनले चामल भण्डारण गर्नका लागि होइन, तत्काल राहतका लागि दिएका थिए । नयाँ पत्रिका दैनिक ।

सम्बन्धित शिर्षकहरु