काठमाडौं । काठमाडौँ उपत्यकाको आगामी दिनको सुरक्षा रणनीति बनाउने उद्देश्यसहित आज यहाँ ‘उपत्यका विशेष सुरक्षा गोष्ठी’ सुरु भएको छ ।
गोष्ठीमा तराई केन्द्रित दलले जनजाति समेतको सहभागितामा गर्ने भनेको राजधानी केन्द्रित आन्दोलन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, सुरक्षा योजना लगायतका विषयमा छलफल भइरहेको छ ।
गोष्ठीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, मन्त्रालयका सहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहभागिता रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले राजधानीको सुरक्षा योजनाबारे साझा धारणा बनाउन गोष्ठी सफल हुने विश्वास व्यक्त गरे।
उनले सुरक्षा निकायबीचको आपसी समन्वय, उनीहरुको आन्तरिक जीवन सुदृढ र सबल बनाउने विषयमासमेत गोष्ठीमा छलफल आवश्यक रहेको धारणा राखे । अहिले मुलुक सामान्यभन्दा अलि विशिष्ट अवस्थामा रहेको भन्दै सुरक्षा निकायले नियमितभन्दा अझ बढी सक्रिय हुन आवश्यक रहेकोमा उनले जोड दिए ।
गृहमन्त्री बस्नेतले संविधान कार्यान्वयन गर्ने र नगर्ने भनी मुलुकलाई धु्रवीकृत गर्ने प्रयास भइरहेको बताउँदै उनले राज्यका सबै निकाय संविधान कार्यान्वयनमा लाग्नुपर्ने भनाइ राखे ।
संविधान कार्यान्वयनमा देखिने जटिलता, आपूर्ति व्यवस्थामा देखिएको असहजता, विधिको शासन, नियमित सुरक्षा व्यवस्था र अपराधको नयाँ स्वरुप लगायतका चुनौतीको कसरी सामना गर्ने विषयमा योजना बनाउन उनले सुरक्षा निकायलाई निर्देशन दिए।
आपूर्ति व्यवस्था अझै सहज हुन नसकेकोतर्फ इङ्गित गर्दै उनले भने, “आपूर्ति व्यवस्था असहज भएको कठिन अवस्थामा जनताले धैर्यधारण गरेर राज्यप्रतिको दायित्व पूरा गरे, अब आपूर्ति व्यवस्थित र पारदर्शी बनाएर राज्यले जनताप्रतिको दायित्व पूरा गर्ने बेला आएको छ ।”
गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखाका प्रमुख तथा सहसचिव यादव कोइरालाले राजधानीको सुरक्षाको भावी कार्ययोजना बनाउन नियमित कार्यक्रमअन्तर्गत नै सुरु भएको गोष्ठी आजै सकिने जानकारी दिए । अहिले गोष्ठीको बन्दसत्र चलिरहेको छ ।








