पूर्वपत्नीका लागि विमान अपहरण

plene-hyjac (2)काठमाडौं । अलेक्जेन्ड्रियाबाट कायरो आइरहेको इजिप्ट एयरलाइन्सको फ्लाइट एमएस १८१ लाई मंगलबार एक प्राध्यापकले अपहरण गरे । मंगलबार बिहान अपहरणकारीले आफूसँग ‘सुसाइड बेल्ट’ भएको भन्दै विमानलाई साइप्रसको लार्नाका विमानस्थलमा अवतरण गराएका थिए ।
उनको उद्देश्य आफ्नी पूर्वपत्नीलाई मनाउनु मात्र रहेको अधिकारीहरूले बताएका छन् । विमानमा चालकदलका ६ सदस्य र ५६ यात्रु थिए ।

गिरफ्तार भए अपहरणकारी
विमान अपहरण गरेको घन्टौँपछि उनले तीन विदेशी र चालकदलका चारसदस्यबाहेक सबैलाई मुक्त गरेका थिए । पछि थप पाँचजना विमानबाहिर निस्किएको देखियो । मंगलबार बिहान विमान अपहरण गरेका उनले अपराह्न सुरक्षाबलसामु आत्मसमर्पण गरे ।

घन्टौँसम्मको नाटकीय घटनाक्रमपछि अन्तमा साइप्रसको विदेश मन्त्रालयले ट्विटरमार्फत ‘संकट समाप्त भएको र अपहरणकारी गिरफ्तार भएको’ जानकारी दियो । उनी इजिप्टेली नागरिक सैफ अल्दजी मुस्ताफा भएको साइप्रसको विदेश मन्त्रालयले जनाएको छ ।
कहाँबाट भयो विमान अपहरण रु
फ्लाइट एमएस १८१ इजिप्टको अलेक्जेन्ड्रियाबाट काबुल गइरहेको थियो । विमान उडेको केही समयपछि एयर ट्राफिक कन्ट्रोलले आपत्कालीन सन्देश पठायो । अलेक्जेन्ड्रिया कायरोबाट एयर डिस्टेन्स एक सय ८० किलोमिटर छ । यो दूरी पार गर्न करिब ४५ मिनेट लाग्छ । तर, विमान अपहरणमा परेको घोषणा भयो र दिशा मोडेर विमानलाई साइप्रस पुर्‍याइयो ।

अवतरण भएपछि के भयो ?
अपहरणमा परेको भनिएको विमान मंगलबार बिहान ७ बजेर १५ मिनेटमा साइप्रसमा अवतरण भएको थियो । विमान साइप्रस आएपछि सरकारले उनीसँग वार्ता गर्ने प्रयास थाल्यो । सुरुमा उनले इजिप्टका जेलमा रहेका सबै महिलालाई रिहा गर्नुपर्ने माग राखे । सुरक्षाफौज सक्रिय हुन थालेपछि उनले आफूसँग भएको ‘सुसाइड बेल्ट’ विस्फोट गराउने धम्की दिए ।

लार्नाक विमानस्थलमा उनले विस्तारै यात्रुहरूलाई मुक्त गर्न थाले । तर, सातजनालाई भने विमानमै राखे । विमानका पाइलट, को–पाइलट, एयर होस्टेज, एयर मार्सल र तीनजना यात्रुलाई मुक्त गर्न उनी मानिरहेका थिएनन् । यसबीच, केही अधिकारीहरू उनीसँग कुरा गरिरहेका थिए । तर, उनले कुनै स्पष्ट माग वा सर्त अघि सारिरहेका थिएनन् ।
त्यसपछि विमानस्थल बन्द गरियो र त्यहाँ अवतरण हुने सबै उडान अन्तै ‘डाइभर्ट’ गरिएका थिए ।

‘आतंककारी होइन, मूर्ख’
साइप्रसका राष्ट्रपति निकोस अनास्तासिएदले घटना आतंकवादबाट अभिप्रेरित नभएको बताए । ‘उनी आतंककारी होइनन्, मूर्ख हुन्,’ राष्ट्रपतिले भनेका थिए ।

अपहरणकारी मायाबाट अभिप्रेरित भएको हो भन्ने प्रश्नको जवाफमा राष्ट्रपति अनास्तासियादेसले हाँस्दै ‘जुनसुकै घटनाका पछाडि महिला हुन्छ’ भनेका थिए।

अधिकारीहरूले उनले आफ्नी पूर्वपत्नीलाई सन्देश दिन विमानलाई साइप्रस पुर्‍याएको बताए ।
अपहरणकारीकी पूर्वपत्नी साइप्रसमा बस्छिन् । विमान आकाशमा उडिरहेका वेला उनले अरबी भाषामा लेखिएको एउटा पत्र विमानबाहिर फ्याँकेका थिए । उनी चाहन्थे, यो पत्र उनको पूर्वपत्नीसम्म पुगोस् ।

अपहरणकारीसँग सेल्फी
नागरिक उड्डयन मन्त्रालयले विमानमा २६ जना विदेशी रहेको जनाएको छ । उनीहरूमध्ये आठ अमेरिकी, चार बेलायती, चार डच, दुई बेल्जियन, दुई ग्रिसेली, एक फ्रान्सेली, एक इटालियन र एक सिरियाली थिए । अन्य तीन विदेशीको पहिचान हुन सकेको छैन ।

उनीहरूमध्ये कसैले अपहरणकारीसँग खिचेको सेल्फी सामाजिक सञ्जालमा राखेका थिए, जुन अहिले भाइरल बनेको छ । अपहरणमुक्त भएका यात्रुलाई ल्याउन एउटा अर्को विमान लार्नाकामा पठाइएको नागरिक उड्डयनमन्त्री सरिफ फातीले बताए । उनकी पत्नी भनिएको महिलासँग विमानस्थलमै सोधपुछ भइरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।

सम्बन्धित शिर्षकहरु