काठमाडौं । बैंगलोरमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक र रोमान्चक तथा नाटकीय जित निकाल्दै भारतले टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
चिन्नास्वामी रंगशालामा भएको खेलमा लक्ष्य पछ्याउने टोलीले टी–२० मा पहिलो पटक हार व्येहोरेको हो । बंगलादेशलाई जितका लागि १४७ रनको लक्ष्य थियो । तर खेलको अन्तिम ओभर सबैभन्दा रोमान्चक बन्यो ।
बंगलादेशलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो र उसको हातमा ४ विकेट पनि थियो । भारतीय कप्तान महेन्द्र सिंह धोनीले हार्दिक पाण्डेलाई बलिङ गर्न पठाए ।
अन्तिम ओभरको पहिलो बलमा महमुदुल्लाहले १ रन लिएर स्ट्रइक मुशफिकुरलाई दिए । उनले दोस्रो र तेस्रो बलमा लगातार चौका हान्दै खेलमा जित नजिक पुर्याएका थिए ।
अब बंगलादेशलाई जितका लागि ३ बलमा २ रन चाहिएको थियो । तर चौथो र पाँचौ बलमा मुशफिकुर र महमुदुल्लाह क्याच आउट भए ।
अब अन्तिम बलमा बंगलादेशलाई २ रन चाहिएको थियो । तर अन्तिम ओभरमा भारतीय कप्तान महेन्द्रसिंह धोनीले दुई रन लिने कोशिसमा रहेका मुस्ताफिर रहमानलाई रनआउट गरे ।
बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो र जितको नजिक पुगेर पनि हार व्येहोर्दै प्रतियोगिताबाट बाहिरियो ।








