कांग्रेस महाधिवेशनको मतगणना चैत ३ भित्र सक्नैपर्ने

 

congressvotecountफागुन २८ । काठमाडौं, कांग्रेस केन्द्रीय सदस्यको मतगणनामा देखिएको सुस्तताले चैत ३ गतेभित्र निर्वाचन आयोगमा निर्वाचित केन्द्रीय कार्यसमितिको नामावली पठाउनुपर्ने ‘डेडलाइन’ पूरा नहुने देखिएको छ । संविधानअनुसार कांग्रेसले चैत ३ गतेभित्र महाधिवेशन भएर चयन भएका पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्ने हुन्छ ।

निर्वाचन समितिको अव्यवस्था र सुस्तताका कारण महाधिवेशन सम्पन्न भएको तीन दिनसम्म पनि पाँच सय मत गणना हुन सकेको छैन । ‘चैत ३ गतेभित्र महाधिवेशन भएको जानकारीसहित निर्वाचित पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रावधान छ’, निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रितालले अन्नपूर्णसँग भने ।

कांग्रेसले तीनपटकसम्म कार्यसमितिको म्याद थप गरी साढे पाँच वर्षसम्म लम्ब्याएको थियो । संविधानमा कुनै पनि राजनीतिक दलले बढीमा साढे पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गरेर पदाधिकारी र सदस्यको चयन गर्नुपर्ने प्रावधान छ ।

कानुनअनुसार चैत ३ गतेभित्र महाधिवेशन सम्पन्न गरी केन्द्रीय समितिको नमावलीसहितको सूची निर्वाचन आयोगमा पेस नगरे कांग्रेस अवैधानिक हुनेछ । बुधबारदेखि खुला २५ सदस्यका लागि भएको निर्वाचनको मतगणना थालिए पनि दिनमा एक सय ५० मत मात्रै गणना भएकाले पूरै सदस्यहरूको गणना गर्न अझै साता दिनभन्दा बढी लाग्ने देखिन्छ । यही गतिमा मतगणना हुने हो भने चैत ३ गतेभित्र आयोगमा सूची पेस गर्न नसकिने देखिएको छ ।

कांग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा गठन गरेको निर्वाचन आयोगले काम सुस्त गरेको भन्दै पार्टीभित्र र बाहिर पनि चर्को आलोचना हुन थालेको छ । निर्वाचन आयोगमा नामावली पठाउने समय ६ दिनमात्रै बाँकी रहेकाले पनि त्यसमा देखिने संवैधानिक र कानुनी जटिलताबारेमा नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पनि परामर्श थालेका छन् ।

स्रोतका अनुसार देउवाले निर्वाचन आयोगमा केन्द्रीय कार्यसमितिको पूरै नामावली पेस गर्नुपर्ने वा महाधिवेशन भएको जानकारीसहित पदाधिकारीको नामावली पेस गर्दा हुने भन्ने विषयमा परामर्श गर्न केही अधिवक्तालाई खटाएका छन् ।

‘चैत ३ गतेभित्र केन्द्रीय कार्यसमितिको नमावली नै निर्वाचन आयोगमा पठाउनुपर्ने बाध्यात्मक व्यवस्था छ कि छैन भन्ने विषयमा उहाँले परामर्श गर्नुभएको छ’, देउवा निकट अधिवक्ता केशवराज जोशीले भने, ‘त्यस विषयमा शुक्रबार निर्णयमा पुगेर बाध्यात्मक भए मतगणना छिटो गर्नेगरी प्रक्रिया अघि बढाउने तयारी छ ।’

कांग्रेसको निर्वाचन समितिले भने चैत ३ गतेसम्म मतगणना सक्नेगरी तयारी थालिएको जनाएको छ । ‘आरक्षणतर्फको महिला, दलित, जानजाति, मधेसीको शुक्रबारदेखि चार ठाउँमा गणना सुरु हुन्छ,’ निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, ‘हामी चैत ३ गतेभित्रै सबै मतगणना सक्ने गरी अघि बढेका छौं ।’

निर्वाचन समितिले चैत ३ गते मतगणना सक्ने बताए पनि खुला केन्द्रीय सदस्यको मतगणना दुई दिनमा चार सय मात्रै भएको छ । बिहीबार साँझसम्ममा चार सय मत गणना गरेर स्थगित गरिएको छ । मतगणना शुक्रबार बिहान १० बजे पुनः सुरु गरिने भएको छ ।अन्नपूर्णा पाेष्टबाट।

सम्बन्धित शिर्षकहरु