चेल्सीलाई हराउँदै पिएसजी क्वाटरफाइनलमा

लण्डन । इङ्गिलश क्लब चेल्सीलाई प्रि क्वाटरफाइलनको दोस्रो लेगमा बुधबार राति २–१ ले पराजित गर्दै फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस्तै पोर्चुगिज बेन्फिकाले पनि च्याम्पियन्स लिगको अन्तिम ८ मा स्थान बनाएको छ ।

चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा दोस्रो लेगमा चेल्सीमाथी २–१ को जित निकालेको पिएसजी समग्रमा ४–२ को जितसहित नकआउट चरणमा प्रवेश गरेको हो । पिएसजीले घरेलु मैदानमा भएको पहिलो लेगमा पनि चेल्सीलाई २–१ ले नै पराजित थियो । दोस्रो लेगमा पिएसजीका एड्रिएन राबियो र जाल्टन इब्राहिमोविचले एक एक गोल गरे भने चेल्सीका डिएगो कोस्टाले एक गोल फर्काए ।

प्रि क्वाटरफाइनलको दोस्रो लेगमा जेनित सेन्ट पिटरसबर्गलाई २–१ ले हराएको बेन्फिका समग्रमा ३–१ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा बेन्फिका १–० ले विजयी भएको थियो ।

खेलको १६ औं मिनेटमा राबियोले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा चेल्सीका कोस्टाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।दोस्रो हाफमा भने पिएसजीका इब्राहिमोविच चम्किए र ६७ औं मिनेटमा गोल गर्दै पिएसजीलाई जित दिलाए ।

‘हामीले निकै राम्रो खेल्यौँ । जब हामीले मौका पायौ स्ट्राइकरले गोल गरे,’ जितपछि पिएसजीका इब्राहिमोविचले भने, ‘हामीलाई त्यो नै जितका लागी प्रयाप्त भयो । समग्रमा चेल्सीसंग हामीलाई खेल त्यति सजिलो थिएन तर हामीले राम्रो गर्यौ ।’ गत बर्षको सिजनमा पनि पिएसजीले चेल्सीलाई हराएर अन्तिम ८ मा स्थान बनाएको थियो । तर, त्यसबेला अवे गोलका आधारमा पिएसजीले अन्तिम ८ मा प्रवेश पाएको थियो ।

‘यो सिजन हाम्रोलागी कठिन छ । हामी लिगमा पनि संघर्ष गर्दै छौ,’ पराजित भएपछि चेल्सीका प्रशिक्षक गुस हिडीङसले भने, ‘सुरुवाती १० मिनेट हामीले पिएसजीलाई डोमिनेट गर्यौ । तर, हामीले त्यसलाई कायम राख्न सकेनौ । पाएको केहि मौका सदुपयोग गर्न सकेनौँ ।’ यो सिजन खराब लयबाट गुज्रिरहेको चेल्सी प्रिमियर लिगको १० औं स्थानमा रहेको छ । चेल्सीले आउँदो शनिबार एफए कपको क्वाटरफाइनलमा एभर्टनसँग खेल्नेछ ।

सम्बन्धित शिर्षकहरु