सुरुङ्गा । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले देशमा भइरहेको इन्धन आपूर्तिको असहजतालाई छिट्टै सहज बनाइने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले भारतबाट अझै पनि पर्याप्त मात्रामा इन्धन नआएकाले देशमा पेट्रोलियम पदार्थको अभाव भइरहेको बताए । मन्त्री पुनले चीनबाट इन्धन ल्याउने र झापासहित देशभर इन्धन भण्डारणका लागि पाँच ठाउँमा इन्धन भण्डारण केन्द्र खोल्ने बताए ।
“अहिले ७० प्रतिशत मात्रै इन्धन भारतबाट आइरहेको छ, बाँकी ३० प्रतिशत इन्धन चीनबाट ल्याउन चीनसँग छिट्टै पारवहन सम्झौता गरिने छ” उनले भने । इन्धन भण्डारणका लागि जिल्लाको चारआलीमा डिपो सञ्चालन गर्न जग्गा खरिद गरेर तत्काल प्रक्रिया अघि बढाइने छ । हाल चारआलीमा भइरहेको निगमको कार्यालयमा इन्धन भण्डारण गर्ने क्षमता कम भएकाले त्यसलाई बढाइने मन्त्री पुनले बताए ।








