ओली र मोदीबीच के हुन्छ वार्ता ?

ओली ७ फागुनमा दिल्ली जाने
modi-oliफागुन १ । काठमाडौं, प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण ७ फागुनमा हुने नेपाल र भारत दुवैले औपचारिक जानकारी दिएका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले शुक्रबार ओलीको भ्रमण ७ देखि ११ फागुनसम्म हुने घोषणा गरेका हुन् ।

‘प्रधानमन्त्रीले भारतीय समकक्षीसँग आपसी हितका विषयहरूमा औपचारिक वार्ता गर्नुहुनेछ, उहाँले राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘उहाँले भारत सरकारका विभिन्न मन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ ।’

‘नेपालका प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फागुन ७ देखि ११ सम्म भारत भ्रमणमा आउँदै हुनुहुन्छ,’ भारतको विदेश मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरूपले भने ।

८ फागुनमा दुई समकक्षीबीच छलफल
प्रधानमन्त्री ओली ७ फागुनमा दिल्ली जाादै छन् । उनले ८ फागुनमा हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम तय भएको छ । उनीहरूबीच नाकाबन्दीले तिक्त भएको दुई देशको सम्बन्धलाई सुमधुर बनाउादै द्विपक्षीय हितका बारेमा छलफल हुनेछ । ‘प्रधानमन्त्री ओलीको भ्रमणमा द्विपक्षीय सहायतालगायत दुईपक्षीय हितका विषयमा छलफल हुनेछ । विकास सहायता, ऊर्जा र कनेक्टिभिटीलगायतका विषयमा पनि छलफल केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भने ।

एजेन्डा अझै तय भएनन्
प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डा अझै तय भएका छैनन् । मन्त्रालयहरूबाट विषय सुझाब माग्ने काम सकिए पनि एकीकृत एजेन्डा टुंगो लागिनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एजेन्डा लुकाइएको भन्दै कांग्रेसको आक्रोश
प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय छलफलमा आसन्न भारत भ्रमणका एजेन्डा लुकाइएको भन्दै कार्यबाहक सभापति रामचन्द्र पौडेलले आक्रोश व्यक्त गरे । ‘सरकारले कुनै काम गर्न नसके पनि प्रधानमन्त्री ओलीको भ्रमणलाई नै उपलब्धि मान्नुपर्ने अवस्था आएको’ भन्दै उनले व्यंग्यसमेत गरे ।

पहिला टेलिफोनमा, बिहीबार लिखित निम्तो
प्रधानमन्त्री निर्वाचित भएलगत्तै एमाले अध्यक्ष केपी ओलीलाई भारतीय समकक्षी मोदीले २४ असोजमा टेलिफोन गरेर भ्रमणको मौखिक निम्तो दिएका थिए । १६ पुसको टेलिफोन कुराकानीका क्रममा पनि मोदीले भारत भ्रमणको निम्तो दिएका थिए । तर, मोदीको औपचारिक लिखित निम्तो भने बिहीबार मात्रै आएको छ ।

‘औपचारिक निमन्त्रणापत्र बिहीबार मात्रै प्राप्त भयो, तर भ्रमणका लागि भारतले पहिले नै अनुरोध गरेको थियो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘नेपालले पनि पहल गरिरहेको थियो ।’

भ्रमणकै विषयमा गत साता अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रसचिव शंकरदास बैरागीलगायत नयाँदिल्ली पुगेर भारतीय उच्च अधिकारीसँग वार्ता गरेका थिए । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अवकाशप्राप्त उपरथी प्रकाशबहादुर बस्नेतले पनि गत साता नयाँदिल्लीमा समकक्षी अजित डोभाललगायतसँग प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले २८ पुसमा सरकारी अधिकारीलाई भारत भ्रमणको तयारी गर्न निर्देशन दिएका थिए । सोहीअनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको एजेन्डाबारे सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको छ ।

निकट र मित्रवत् नेपाल : भारत
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालसँगको मित्रता ‘पुरानो, निकट र मित्रवत्’ रहेको भन्दै ओलीको भ्रमणपछि मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । ‘वीरगन्ज–रक्सौलको नाकाबन्दी हटेको छ । योलगायतका विषयको पृष्ठभूमिमा नेपालको राजनीतिक वस्तुस्थितिका बारेमा पनि छलफल हुनेछ,’ प्रवक्ता स्वरूपले भने । यसबाहेक भूकम्पपछि नेपाललाई दिने वचन दिएको एक अर्ब डलर (२५ करोड अनुदान र ७५ करोड डलर ऋण)का विषयमा पनि छलफल हुने उनले बताए ।

ओली मुम्बई हुँदै काठमाडौं फर्किने
प्रधानमन्त्री ओली भ्रमणको क्रममा भारतको आर्थिक राजधानी मुम्बई पनि पुग्ने भएका छन् । शुक्रबार साँझसम्म तय भएको भ्रमण तालिकाअनुसार ओली १० फागुनमा मुम्बई जानेछन् । ११ फागुनमा उनी मुम्बईबाटै स्वदेश फर्किनेछन् । उनी गुजरात, उडिसाको पुरी र मुम्बईमध्ये एक ठाउँ जानेबारेमा गृहकार्य भएको थियो । बिहीबार व्यापारिक प्रतिनिधिसँगको कुराकानीमा पनि ओलीले मुम्बईमा आफू जाने र व्यवसायीसँग छलफल गर्ने जानकारी दिएका थिए ।

प्रजातन्त्र दिवसमा दिल्लीमा रात्रिभोज
प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रजातन्त्र दिवसको साँझ दिल्लीस्थित नेपाली दूतावासले रात्रिभोज आयोजना गर्ने भएको छ । रात्रिभोजमा भारतीय नेताहरूसँग पनि भेटवार्ता हुने दूतावासले जनाएको छ ।
प्रधानमन्त्रीलाई दलहरूको सुझाब

राष्ट्रिय हितविपरीत सम्झौता नगर्नुहोस्
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे सुझाब माग्न शुक्रबार सर्वदलीय बैठक बोलाएका थिए । दलहरूले उनलाई राष्ट्रिय हितविपरीत सन्धि–सम्झौता नगर्न सुझाब दिएका छन् । दलहरूबाट आएका साझा सुझाब यस्ता छन् :
नेपाल तल पर्नेगरी प्रधानमन्त्रीले राष्ट्रिय हितविपरीत कुनै सम्झौता गर्नुहुँदैन।

पारवहन सन्धिको पुनरावलोकन गर्नुपर्छ
सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्छ
पुनर्निर्माणलगायतमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनका लागि पहल गर्नुपर्छ
भ्रमणमा मधेसी मोर्चाको प्रतिनिधित्व हुनुपर्छ
गोर्खा सैनिकलाई तेस्रो देश पठाउने निर्णय फिर्ता गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ
दुई देशको उद्योग–वाणिज्य टोलीबीच छलफल

ढिलो ब्युँझियो : भारतभारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालसहित छिमेक मामिलामा नरेन्द्र मोदी नेतृत्वको सरकार असफल भएको बताएका छन् । इन्डिया टुडे पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले नेपालको संविधानलेखन मामिलामा भारत सरकार पछि ब्युँझिएको र सकारात्मक रूपमा नेपाल मामिला सञ्चालन नगरेको आरोप लगाए ।
साना छिमेकीको भावना बुझौँ
नेपाल सरकारले भारतले नाकाबन्दी गरेको आरोप लगाइरहेको छ । यो परिस्थिति असाध्यै दुर्भाग्यपूर्ण छ । नेपाल सबैभन्दा नजिकको छिमेकी हो, हामीले साना छिमेकीको भावना सुन्ने प्रयत्न गर्नुपर्छ । साधारण नेपालीमा भारत ठूलो मित्र हो भन्ने वातावरण बनाउने दायित्व हाम्रो हो ।

संविधानबारे पहिले नै भन्नुपथ्र्यो
भारतले नेपालको संविधानका विषयमा पछि गरेको कुरा पहिले नै गर्नुपथ्र्यो । २०१५ सेप्टेम्बर २० मा संविधान पारित भयो र १/२ दिनअघि मात्र नेपाललाई कडा सन्देश दिन विदेशसचिवलाई नेपाल पठाइयो । कठिन समस्या सुल्झाउने यो राम्रो तरिका होइन ।

भारत सरकार ढिलो ब्युँझियो
यदि भारतले संविधानमा समस्या महसुस गरेको भए, सरकारले पहिले नै नेपालीलाई शान्तपूर्वक भन्नुपथ्र्यो कि उनीहरू के महसुस गर्दै छन् । त्यहीअनुसार कुराकानी गरेर समाधानका लागि उत्प्रेरित गर्नुपथ्र्यो । यो गर्नुको साटो सरकार ढिलो ब्युँझियो, संविधान जारी गर्नुभन्दा केवल दुई–तीन दिन पहिले । वास्तवमा बहुसंख्यक मधेसीहरूले पनि संविधानको पक्षमा मतदान गरे । त्यसकारण भारत सरकार नेपाली समाजमा के भइरहेको छ भन्ने कुरामा बढी सचेत हुनुपथ्र्यो ।

नेपालमा सधैँ भारतको प्रभाव
हो, सरकारले काठमाडौंसँग प्रभाव राख्नुपथ्र्यो । नेपालमा सधैँ हाम्रो प्रभाव रहेको छ र त्यसलाई हामीले सधैँ नेपाल–भारत सम्बन्धको हितमा उपयोग गरेका छौँ ।

ठूलासँग राम्रो, छिमेकमा अस्थिर
ठूला शक्तिराष्ट्रहरूसँगको सम्बन्ध सुध्रिएको छ । हाम्रो पालामा पनि भएको हो । हामीसँग रुस, चीन, जापान, फ्रान्स, अमेरिका, जर्मनीसँग राम्रो सम्बन्ध थियो । तर, म भन्छु कि हाम्रो विदेश नीतिको वास्तविक परीक्षा हाम्रा छिमेकीहरूसँगको मामिला सञ्चालन हो । मोदी सरकारको पाकिस्तान मामिला सञ्चालन अस्थिर छ । यो एक कदम अघि, दुई कदम पछि जस्तो छ ।नयाँ पत्रिका।

सम्बन्धित शिर्षकहरु