संविधान संशोधनप्रति भारतले किन यस्तो भन्यो ?

Indian-Flag-Wallpapers-HD-Free-Download-for-pc-660x330स्वागत भने गरेन
माघ ११ । काठमाडौं, व्यवस्थापिका–संसदले शनिबार राति गरेको संविधान संशोधनको निर्णयलाई भारतले ‘स्वागत’ नगरी ‘सकारात्मक कदम’ भनेको छ । विदेश मन्त्रालयले आइतबार दुई वाक्यको विज्ञप्ति जारी गरी भनेको छ, ‘नेपाली संसदबाट दुईवटा संशोधन पास भएको विषयलाई हामी सकारात्मक विकासका रूपमा लिन्छौँ । हामी आशा गर्छौं कि अन्य विषयहरू पनि यसैगरी सिर्जनात्मक तरिकाबाट सम्बोधन हुनेछन् ।’

संशोधनको भोलिपल्टै विज्ञप्ति
सामाजिक न्यायअन्तर्गत समानुपातिक समावेशिता सुनिश्चित गर्ने र तराईमा करिब ८० सिट हुने गरी जनसंख्या र भूगोलका आधारमा निर्वाचन प्रणाली तय गर्ने गरी शनिबार राति संविधान संशोधन भएको थियो । त्यसको भोलिपल्ट भारतले विज्ञप्ति प्रकाशित गरी यस्तो प्रतिक्रिया दिएको हो । यसअघि ६ पुसमा भारतले संविधान संशोधनमार्फत सहमति गर्ने सरकारी निर्णयलाई स्वागत गरेको थियो ।

सरकारले ५ पुसमा संविधान संशोधनमार्फत निर्वाचन क्षेत्र, समानुपातिक प्रतिनिधित्वको विषय समाधान हुने र राजनीतिक संयन्त्रमार्फत तीन महिनामा सीमांकन टुंगो लगाउने निर्णय गरेको थियो । भारतले वैवाहिक अंगीकृत नागरिकता र तराईमा करिब आधा प्रतिनिधित्व सुनिश्चित हुने खालको निर्वाचन प्रणालीमा मुख्य चासो राखेको थियो । तर, संविधान जारीपछि वैवाहिक अंगीकृत नागरिकतामा समस्या नदेखिएपछि भारतले अहिले त्यसलाई मुद्दा बनाएको छैन ।

भारतले किन गरेन स्वागत ?
भारतले संविधान संशोधनको निर्णयलाई ‘स्वागत’ नगरी ‘सकारात्मक कदम’ भनेको छ । मधेसी मोर्चाले राखेका माग सम्बोधन गर्ने सरकारी रोडम्यापलाई भारतले ६ पुसमा ‘स्वागत’ गरेको थियो । कूटनीतिमा ‘स्वागत’ र ‘सकारात्मक’ शब्दको अर्थ फरक हुन्छ, भारतको वक्तव्यले कूटनीतिक वृत्तमा अन्योल उत्पन्न गराएको छ ।
‘नेपाली संसद्बाट दुईवटा संशोधन पास भएको विषयलाई हामी सकारात्मक विकासका रूपमा लिन्छौँ । हामी आशा गर्छौँ कि अन्य विषयहरू पनि यसैगरी सम्बोधन हुनेछन्,’ भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको दुई वाक्यको विज्ञप्तिमा उल्लेख छ ।

संविधान संशोधन मधेसी मोर्चाको माग हो, प्रमुख तीन दललाई यो संशोधन चाहिएकै थिएन, जसलाई चाहिएको हो, उसैले स्वागत नगरेपछि भारतले स्वागत गरेन ।

संशोधनले नागरिकताको विषय संविधानमा स्पष्ट पारिएन र सीमांकनको विषयमा कुनै प्रगति भएन । सम्बोधन गर्न मुद्दा बाँकी रहेकाले भारतले भएजति विषयलाई मात्रै समर्थन गरेको हो ।

संशोधनको विषयलाई स्वागत गर्दा मधेसी मोर्चा बिच्किने हुनाले उससँगको सम्बन्ध र सरकारसँगको सम्बन्धलाई सन्तुलन गर्न सकारात्मक भनेर बीचको शब्द प्रयोग गर्‍यो ।
नयाँ पत्रिका

सम्बन्धित शिर्षकहरु