पुस १९ । काठमाडौं, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान सुनसरीको इटहरी पुगेका छन् । उनी आइतबार बिहान काठमाडौं फर्कनेछन् । सोमबार काठमाडौंबाट जनकपुर पुग्नेछन् । शनिबार, आइतबार र सोमबारको प्रचण्डको व्यस्तताको कार्यसूची हो यो ।
सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रचण्ड ३ माघसम्म पार्टीको प्रदेश समितिका बैठकहरूमा व्यस्त रहनेछन् ।
प्रचण्ड शनिबार इटहरी पुगेर एमाओवादीको १ नं। प्रदेश बैठकमा सहभागी भए । सोमबार २ नं। प्रदेशको बैठकमा सहभागी हुन जनकपुर पुग्नेछन् ।
प्रचण्डसँगै पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि प्रदेश समितिका बैठक तथा प्रशिक्षणहरूमा व्यस्त रहनेछन् । बिहीबारबाट ३ नं। प्रदेशबाट सुरु भएको प्रदेश समितिहरूको बैठक तथा प्रशिक्षण ३ माघमा ७ नं। प्रदेशको बैठक सकिएपछि समापन हुनेछ ।
तीन सय ७५ दिन लामो केन्द्रीय समिति बैठकले लिएका निर्णय, केन्द्रीय समितिले पारित गरेको पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनको जानकारी गराउन र भावी कार्ययोजनाबारे सुझाब माग्न एमाओवादीको प्रदेश समितिहरूको बैठक सुरु भएको छ । ‘पुस १६ गते ३ नं। प्रदेशको बैठक बस्यो ।
यो क्रममा माघ ३ गते ७ नं। प्रदेशको बैठकपछि सकिनेछ,’ एमाओवादी कार्यालयका मुख्यसचिव डोरप्रसाद उपाध्यायले भने, ‘यो अवधिभर अध्यक्ष प्रचण्ड, उपाध्यक्ष प्रकाश र अन्य शीर्ष नेताहरू पार्टीकै काममा बढी व्यस्त रहनुहुनेछ ।’
एमाओवादी अध्यक्ष प्रचण्ड ४ नं। प्रदेश समितिको बैठकमा भाग लिन २२ पुसमा पोखरा पुग्नेछन् । ५ नं। प्रदेश समितिको बैठकमा भाग लिन २५ पुसमा दाङ र ६ नं। प्रदेश समितिको बैठकमा भाग लिन २८ पुसमा सुर्खेत पुग्नेछन् । ७ नं। प्रदेश समितिको बैठक ३ माघमा बस्ने तय भए पनि स्थान तय भइनसकेको मुख्यसचिव उपाध्यायले जानकारी दिए ।
‘सरकार सञ्चालनमा अन्तरविरोध छ’
सुनसरीमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार छाड्ने विषयमा छलफल भए पनि अहिले नै छाडिहाल्ने अवस्था नभएको बताएका छन् । सरकार सञ्चालनका विषयमा अन्तरविरोध रहेको पनि उनले बताए ।
सुनसरीको इटहरीमा सुरु भएको १ नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन इटहरी आएका प्रचण्डले मन्त्रिमण्डल र मन्त्रालयको विभाजनका विषयमा खटपट देखिए पनि सरकार छाड्ने तहमा नपुगेको बताए । उनले सरकारले एकलौटी ढंगको कार्यशैली अपनाएको आरोप लगाए ।
नाकाबन्दी र मधेस आन्दोलनले उठाएको समस्या छिटोभन्दा छिटो समाधान हुने प्रचण्डको भनाइ छ । आइतबार हुने चार दलको बैठकबाट केही न केही टुंगोमा पुग्ने विश्वास उनको थियो । इटहरीको रिजाल्स भिजनमा आयोजना गरिएको १ नम्बर प्रदेशको प्रशिक्षणमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समेत उपस्थिति छ । प्रशिक्षणमा १ नम्बर प्रदेशका कोचिला, लिम्बुवान र किराततर्फका इन्चार्ज र पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता छ ।नयाँ पत्रिका








