१६ करोडको इन्धन दिँदै चीन

Kamal_thapa_meets_Wang-Yee_819223374_674584522पुस १५ । काठमाडौं, चीनले १० मिलियन चिनियाँ युआन (१६ करोड रुपैयाँ) बराबरको इन्धन अनुदान सहायतास्वरूप नेपाललाई चाँडै उपलब्ध गराउने भएको छ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणका क्रममा भएको द्विपक्षीय भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालीन इन्धन संकट हल गर्न नेपाललाई थप इन्धन अनुदानस्वरूप उपलब्ध गराउने सहमति जनाएका हुन्।नेपाल सरकारले चीनलाई उक्त परिमाणको इन्धन उपलब्ध गराइदिन केही दिनमा औपचारिक प्रस्ताव पठाउने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए।

‘नेपालले प्रस्ताव गरेलगत्तै केरुङ नाका हुँदै उक्त परिमाणको इन्धन काठमाडौं आइपुग्नेछ,’ ती अधिकारीले भने।चीनको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केका परराष्ट्रमन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार पत्रकारसँग भने, ‘चीनले विगतमा दिएकै परिमाणबराबरको इन्धन नेपाललाई तत्कालीन प्रयोजनका लागि अनुदानस्वरूप उपलब्ध गराउने सहमति भएको छ।’

भारतको नाकाबन्दीका बीच चीनले नेपाललाई १३ लाख लिटर इन्धन अनुदानस्वरूप उपलब्ध गराएको थियो।परराष्ट्रमन्त्री थापाले चीनसँग दीर्घकालीन इन्धन व्यापार सम्झौताका विषयमा विस्तृत छलफल भएको बताए। ‘चीनसँग दीर्घकालीन रूपमा इन्धन व्यापारका निमित्त कर, यातायात, मूल्य आदिका विषयमा दुई देशका सम्बन्धित निकायले आपसमा छलफल गरेर तय गर्ने समझदारी भएको छ,’ उनले भने।
भ्रमणका क्रममा दुई देशबीच ‘कनेक्टिभिटी’ र पूर्वाधार विकासका बारेमा पनि विस्तृत छलफल भएको उनले बताए। ‘सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको दुई देशबीचमा आर्थिक सम्बन्धको दीर्घकालीन रूपरेखा अर्थात् फ्रेमवर्क तयार गर्नु नै रह्यो,’ थापाले भने।

सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको दुई देशबीचमा आर्थिक सम्बन्धको दीर्घकालीन रूपरेखा अर्थात् फ्रेमवर्क तयार गर्नु नै रह्यो।-परराष्ट्रमन्त्री कमल थापा

दुई देशको आर्थिक सम्बन्ध थप सुदृढ तुल्याउने क्रममा यसपटकको भ्रमणमा चीन र नेपालबीचमा खुला र स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धि, लगानी अभिवृद्धिका विषयमा विस्तृत छलफल गरी अघि बढाउने सहमति भएको थापाले बताए। नेपाल र चीनबीचमा रहेका नौवटा नाकालाई क्रमैसँग प्राथमिकताका आधारमा क्रियाशील तुल्याउँदै जाने समझदारी पनि दुई देशबीच भएको छ।

‘नेपाल र चीनबीच लामो समयदेखि मित्रताको महत्वपूर्ण आधारस्तम्भ र व्यापारको महत्वपूर्ण माध्यम अरनिको राजमार्ग चाँडोभन्दा चाँडो पूर्ववत् रूपमा सञ्चालन गर्ने विषयमा चीनबाट सहयोग हुने भएको छ,’ परराष्ट्रमन्त्रीले भने, ‘त्यसका साथै रसुवागढी—केरुङ नाकालाई बाह्रै महिना चालू हालतमा राख्ने सहमति चीनसँग भएको छ।’

सन् २०२० सम्म नेपाल-चीन सीमासम्म चिनियाँ रेल आउने सम्भावना रहेको उल्लेख गर्दै मन्त्री थापाले नेपालमा समेत रेलमार्गको विकास गर्ने विषयमा प्रारम्भिक कार्य अगाडि बढाइने बताए। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार थापाले केरुङसम्म आउने चिनियाँ रेललाई रसुवागढी हुँदै काठमाडौंसम्म जोड्न चिनियाँ सहयोगको अपेक्षा गरिएको चिनियाँ उपराष्ट्रपति ली युआन चाओसँगको भेटमा बताएका थिए।

थापाले चिनियाँ पक्षले प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमणको निमन्त्रणा दिएको बताए। ‘सम्भवतः प्रधानमन्त्रीको भ्रमणका अवसरमा अहिले हामीले तयार गरेको आर्थिक सहकार्यका फ्रेमवर्कलाई कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण उपलब्धि हुनेछ,’ उनले भने। आगामी वर्ष चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने उनको भनाइ थियो।

मन्त्री थापाले इन्धन सम्झौताका लागि पर्याप्त गृहकार्य भइरहेको बताए। तर उनले आफ्नो भ्रमण इन्धन सम्झौता गर्नका लागि नभएको प्रतिक्रिया दिए । ‘हामी इन्धन सम्झौताका लागि चीन गएका थिएनौं,’ उनले भने।व्यापार विविधीकरण सरकारको नीति रहेको बताउँदै थापाले त्यो नीतिअनुसार सरकारले दीर्घकालीन रूपमा चीनसँग इन्धन व्यापारका लागि काम गर्ने बताए।

‘मेरो यो भ्रमणले चीनसँग दीर्घकालीन रूपमा इन्धन व्यापार गर्ने बाटो प्रशस्त गरेको छ। अब चीन र नेपाल दुवै पक्षबाट यसका लागि सक्रिय भएर काम गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि हामी स्थायी प्रबन्धतर्फ अघि बढेका छौं।’ परराष्ट्रमन्त्री थापा नेतृत्वको टोली गत बुधबार चीन भ्रमणमा गएको थियो। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित शिर्षकहरु