पुस १ । काठमाडौं, कांग्रेसमा डेढ लाख क्रियाशील सदस्य थपिएका छन् । छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएको हो । अब कांग्रेसमा क्रियाशील सदस्य चार लाख ७० हजार पुगेका छन् ।
कांग्रेसको १२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार क्रियाशील सदस्य थिए । अहिले एक लाख ५३ हजार थपिएर चार लाख ७० हजार पुगेको हो । कांग्रेसले १३औँ महाधिवेशनसम्म क्रियाशील सदस्य ६ लाखसम्म पुर्याउने लक्ष्य लिएको थियो ।
आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधि ल्याउन संस्थापन र देउवा पक्षले विधि र प्रक्रिया मिच्दै सदस्यता फारम वितरण गरेपछि करिब दुई दर्जन जिल्लामा विवाद भएको थियो । विवाद बढेपछि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले तीन जिल्लाका नयाँ सदस्यलाई मान्यता नदिएर सदस्यता विवाद टुंग्याएको हो ।
छानबिन समितिको प्रतिवेदन बुधबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुँदै छ । ‘तीन लाख १७ हजार क्रियाशील सदस्य रहेकोमा एक लाख ५३ हजारले बढेर झन्डै चार लाख ७० हजार पुगेको छ,’ समिति सदस्य रामकृष्ण यादवले नयाँ पत्रिकासित भने, ‘हाम्रो प्रतिवेदन अब कन्द्रीय समितिमा प्रस्तुत हुन्छ ।’
संगठन विभाग प्रमुख आनन्द्रप्रसाद ढुंगानाले पनि क्रियाशील सदस्यता विवाद टुंगिएको जानकारी दिँदै बुधबारको बैठकमा छानबिन समितिको प्रतिवेदन प्रस्तुत हुने बताए । केन्द्रीय समितिले छलफल गरी प्रतिवेदन अनुमोदन गर्नेछ ।
६ लाख सदस्य पुर्याउने लक्ष्य
१२औँ महाधिवेशनसम्म कांग्रेसका तीन लाख १७ हजार क्रियाशील सदस्य थिए । अहिले एक लाख ५३ हजार थपिएर चार लाख ७० हजार पुगेका छन् । १३औँ महाधिवेशनसम्म क्रियाशील सदस्य ६ लाख पुर्याउने लक्ष्य थियो ।
नुवाकोट, सप्तरी र पर्साका नयाँ सदस्यले मान्यता पाएनन्
गुटगत विवादका कारण सप्तरी, पर्सा र नुवाकोटका नयाँ सदस्यले मान्यता पाएनन् । छानबिन समितिले तीन जिल्लामा १२औँ महाधिवेशनअघि टुंगिएको सदस्यतालाई नै कायम राख्ने निर्णय गरेको छ । विवादित अन्य केही निर्वाचन क्षेत्रका नयाँ सदस्यलाई पनि मान्यता दिइएको छैन ।
केन्द्रीय समिति बैठक आज
कांग्रेस केन्द्रीय समिति बैठक बुधबार ९ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । बैठकमा समसामयिक राजनीति र महाधिवेशन तयारीबारे छलफल हुनेछ । संविधान संशोधन प्रक्रिया अगाडि बढेकाले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने भन्ने विषयसागै संसद्मा पार्टीको भूमिकाबारे बैठकमा छलफल हुनेछ । ‘संसद्मा पार्टीको तर्फबाट सशक्त नेतृत्व हुन सकेन भन्ने साथीहरूको गुनासो रहँदै आएको छ, संसदीय दलको कार्यसमिति छैन । दलको उपनेता छैनन् । त्यसैले जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यति हुन सकेको छैन । यी सबै कुरा बैठकमा उठाउने पक्षमा साथीहरू छन्,’ केन्द्रीय सदस्य मीन विश्वकर्माले नयाा पत्रिकासाग भने । नयाँ पत्रिका।








