मंसिर २९ । काठमाडौं, विपक्षीले सरकारको कामकारबाहीको आलोचना गर्नु, असन्तुष्टि व्यक्त गर्नु सामान्य मानिन्छ। त्यसनिम्ति कम्तीमा सय दिन अर्थात् ‘हनिमुन’ अवधि पर्खने चलन छ। एमाले नेतृत्वमा गठित सरकारमा भने प्रधानमन्त्रीदेखि मन्त्रीसम्म आफ्नै कामकारबाहीप्रति दिग्दार छन्। उनीहरु आफूले चाहेजस्तो काम गर्न नसकेको भन्दै सार्वजनिक रुपमै आत्मग्लानि प्रकट गर्न थालेका छन्, त्यो पनि सरकार गठनको सय दिन नपुग्दै।
सोमबार बिहान बालुवाटार पुगेका प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र प्राज्ञ सदस्यसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अपेक्षाअनुसार आफूले काम गर्न नसकेको भन्दै दिक्दारी प्रकट गरे।
‘पहिलो भूकम्पले हान्यो, त्यसपछि आन्दोलन र अहिले भारतको नाकाबन्दीले देशको अवस्था गम्भीर बनेको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘के के न गरौँला भन्ने थियो, कस्तो–कस्तो योजना थियो तर त्यसअनुसारका काम हुन सकेका छैनन्।’
प्रतिष्ठानका पदाधिकारीसँग प्रधानमन्त्री ओलीले एक घन्टा कुराकानी गरेका थिए। पूर्वीय दर्शन जोड्दै उनले आफूले समेत काम गर्न नसकेको ‘हतप्रभ’ अभिव्यक्ति राखेका थिए।
भूकम्पको पुनर्निर्माण, मधेसमा जारी आन्दोलन र भारतीय नाकबान्दीको विषयमा उल्लेख्य प्रगति हुन नसक्दा सत्तारुढ दलभित्रैबाट कार्य सम्पादनबारे असन्तुष्टि सुनिन थालेको हो।
प्रधानमन्त्री ओली मात्र होइन, सत्ता गठनबन्धनको महत्वपूर्ण साझेदार एकीकृत नेकपा माओवादीभित्र पनि आफ्नै काम–कारबाहीबारे आत्मग्लानि प्रकट भइरहेको छ
एमाओवादी जारी केन्द्रीय कमिटी बैठकमा सरकारले अपेक्षाकृत काम गर्न नसकेको, आफ्नो पार्टीबाट मन्त्री भएकाले पनि काम गर्न नसकेको भन्दै विरोध भएको थियो। पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा सरकार र पार्टीबीच समन्वय गराउन गठन गरिएको समितिबाट मुक्त गर्न आग्रह गरेका थिए।
मन्त्रीको काम–कारबाही अनुगमन, पार्टी र सरकारबीच समन्वयका लागि पार्टीले गठन गरेको समितिमा श्रेष्ठ संयोजक छन्।
पार्टी मुख्यालय, पेरिसडाँडामा भएको बैठकमा बोल्ने अधिकांशले सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका थिए। बैठकमा नेताहरूले पार्टीबाट सरकारमा संलग्न मन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताए।
उनीहरुले मन्त्री फिर्ता बोलाउनेसम्म विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीको नेतृत्वमा संसदको तेस्रो ठूलो दल एकीकृत माओवादी, चौथो दल राप्रपा नेपालसहितको सहयोगमा असोज २४ गते सरकार गठन भएको थियो। ६ उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषदमा नौ दलको सहभागिता छ।
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठकमा पनि आफूहरुबाट पनि प्रभावकारी काम हुन नसकेको विषय उठेको थियो। सोमबार बिहानको बैठकमा पार्टीका तर्फबाट सरकारमा उपप्रधानमन्त्री रहेका अध्यक्ष कमल थापाले सरकारको भूमिकाको समीक्षा गर्दै परिणाममुखी काम हुन नसकेकोमा दिग्दारी प्रकट गरेको स्रोत बताउँछ।
बैठकमा सरकारमा सहभागी अन्य मन्त्रीले सरकार प्रभावकारी हुन नसकेको भन्दै आगामी दिन परिणाममुखी काम गर्ने बताएका थिए। राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले पनि सार्वजनिक कार्यक्रममा सरकारको काम प्रभावकारी नहुन नसकेको भन्दै त्यस्तो अवस्था रहे सरकार छाड्ने चेतावनी दिएका थिए। नागरिक दैनिकबाट








