‘कांग्रेस आफैं चाउरिएको हो’

KP-Sharma-Oli-Nepal-Prime-Minister‘म समस्याको भारी बोकेर भएको प्रधानमन्त्री हुँ, यसलाई व्यवस्थापन गरेर छोड्छु’

मंसिर २७ । काठमाडौँ, प्रधामन्त्री केपी ओलीले कांग्रेस आफ्नै कारणले चाउरिँदै गएको बताएका छन् । काभ्रे एकालेको नवौं माहाधिवेशन उद्घाटन गर्न शनिबार बनेपा आएका प्रधानमन्त्री ओलीले भने, ‘सहमति गर्दै छोडेको र इमानदारीमा चुकेकाले कांग्रेस चाउरिएको हो ।’

उत्तिकै हैसियत भए पनि आफूहरूले कांग्रेसलाई साथ दिएको बताउँदै उनले भने, ‘तर सत्ता हस्तान्तरण गर्ने समय आएपछि कांग्रेसले इमानदारीको धरहरा ढाल्यो । त्यसकै परिणाम अहिले आफैं चाउरिँदै गएको छ ।’

प्रधानमन्त्री ओलीले भूकम्पले लथालिंग बनाएको बेला फेरि नाकाबन्दीले देशको अर्थतन्त्र क्षतविक्षत बनाएको अवस्थामा सरकारको दायित्व भन्दै गैरजिम्मेवार तरिकाले आफूहरूलाई आरोप लगाइएको बताए । ओलीले कांग्रेसप्रति रोष प्रकट गर्दै देशको पहिलो पार्टी भएर पनि सरकारलाई आरोपप्रत्यारोप गर्दै गैरजिम्मेवार बन्नु गलत भएको बताए ।

‘निहुँ खोज्ने, आरोप लगाउने खेल भइरहेको छ’, उनले भने, ‘सरकार असफल पार्न दोहोरो चरित्र देखाउँदै आएकाहरूको खेल समाप्त पार्छौ । समय र ज्वारभाटाजस्तै अब सरकार निरन्तर अघि बढिरहन्छ ।’

सीमामा भइरहेको नाकाबन्दी र तराई आन्दोलनको विषमता सधैं नरहने बताउँदै उनले सहमतिबाट तुरुन्तै समस्या समाधान गर्न सरकारका तर्फबाट सत्ताबाहिर रहेका मधेसवादी दल र कांग्रेसलाई आग्रह गरे ।

‘सरकारमा नभएकाहरूले निहुँ खोज्दै आरोप लगाउने प्रवृत्ति देखाएर विखण्डनकारी अपभ्रम फैलाउने, सुरक्षा निकायमाथि हमला गर्ने र कानुनविरोधी काम गर्नेलाई सरकारले छोड्दैन’, उनले भने, ‘कानुनको दायरामा रहेर प्रक्रिया र विधिगत तरिकाले आफ्ना माग र असन्तुष्टि राख्न अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले आउने दसैंतिहारसम्म लोडसेडिङ अन्त्य गर्दै चीनसँग सीमा जोडिएका राजमार्गहरूको स्तर उन्नति र निर्माण गर्ने बताए । ‘कांग्रेस महाधिवेशनको गुफामा छिरेको छ । बाहिर निस्कँदा सरकारको काम देखेर छक्क पर्छ’, उनले भने, ‘म समस्याको भारी बोकेर भएको प्रधानमन्त्री हुँ । यसलाई व्यवस्थापन गरेरै छोड्छु ।’

एमाले काभ्रेको अध्यक्षका लागि आइतबार हुने निर्वाचनमा ओली पक्षधर भीम न्यौपाने र माधव नेपाल पक्षधर टोपबहादुर वाइबाले उम्मेदवारी दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

सम्बन्धित शिर्षकहरु