जो कोही व्यक्ति कुनै न कुनै पेसामा आबद्ध हुन्छन् । एउटा पेसामा सक्रिय रहे पनि पेसाबाहेकका अनेक रुचि हुन सक्छन् । कोही रुचि नै नभएको पेसामा समेत अल्झिरहेका पाइन्छन् भने कतिपय चाहेर पनि रुचिको पेसामा प्रवेश गर्नै सक्दैनन् । नयाँ पत्रिकाका लक्ष्मण सुवेदीले केही सेलेब्रिटीसाग आफ्नो पेसाबाहेकका रुचि बुझ्ने प्रयास गरे । उनीहरूले सुनाए:
राजनीतिमा रुचि छ
रेखा थापा, अभिनेत्री
बच्चैदेखि हिरोइन बन्ने सपना मात्रै देखेँ । त्यसैले ‘ब्युटी प्याजेन्ट’मा भाग लिँदै यो क्षेत्रमा प्रवेश गरेँ । नाच्न, अभिनय गर्न भनेपछि सधैँ हुरुक्कै हुन्थेँ । त्यसैले मैले अरू केही सोचिनँ । पारिवारिक माहोल आर्मी, पुलिस भएकाले कलाकारितामा नलागेकी भए सायद आर्मी हुन्थेँ होला ।
मलाई अभिनयबाहेक गीत गाउन र संगीत गर्नमा रुचि छ । त्यसका साथै समाजसेवा र राजनीतिमा पनि मेरो गहिरो लगाब छ । फिल्मसँगै कालान्तरमा म समाजसेवा र राजनीतिमा पनि स्थान बनाउन चाहन्छु ।
पाइलट बन्ने मन थियो
राजेशपायल राई, गायक
पारिवारिक पृष्ठभूमि राजनीति तथा ब्रिटिस आर्मी भए तापनि म सानैदेखि गायनमा लागेँ । नौ कक्षा पढ्दाखेरि नै म गायकमा जम्न थालिसकेको थिएँ । पछि गएर केही चलचित्रहरूमा पनि अभिनय गरेँ । तर, मलाई एक समय पाइलट बन्ने इच्छा पलाएको थियो । तर, त्यतातिर लागिएन । संगीतबाहेक मलाई स्विमिङमा रुचि छ । मज्जाले स्विम गर्छु । नयाँ ठाउँ घुम्ने अनि मित्रता गाँस्ने पनि मेरो सोख हो ।
फिल्मबाहेक केही गर्दिनँ
आर्यन सिग्देल, अभिनेता
मेरो एउटा बानी छ, म कुनै पनि काम योजना बनाएर गर्दिनँ । न बच्चामा यो बन्छु भनेर योजना बनाएँ, न पछि नै । अगाडि जे आउँछ, त्यही गर्दै जान्छु । मेरो कुनै योजना हुन्न । कलाकारितामा पनि विनायोजना नै आएको हुँ । रुचिचाहिँ थियो, तर यसैलाई पेसा बनाउँला भन्नेचाहिँ कहिल्यै सोचेको थिइनँ । गर्दै गएँ, बाटो बन्दै गयो । मलाई फिल्म, अभिनयबाहेक अरू केहीमा पनि रुचि छैन । मैले जानेको पनि यही हो । आर्मी कलेज पढेकाले सायद यो क्षेत्रमा नलागेको भए आर्मी बन्थेँ होला । अरू त मैले कहिल्यै सोचिनँ ।
अभिनयबाहेक केही आउँदैन
सौगात मल्ल
मलाई बच्चादेखि नै हिरो बन्ने सोख थियो । त्यसैले अरू केही पनि सोचिनँ । अभिनयबाहेक अरू केहीमा पनि मेरो रुचि छैन । कलाकारिताबाहेक मलाई अरू केही पनि आउँदैन ।
भ्वायलिन राम्रै बजाउँछु
रजनी केसी, अभिनेत्री
कलाकारितामा नलागेकी भए म मेडिकल फिल्डमा हुन्थेँ । फार्मेसी पढेकाले मैले त्यसैलाई ‘प्रोफेसन’ बनाउने थिएँ । अभिनय, नृत्यबाहेक मलाई भलिबल र रनिङमा रुचि छ । स्कुल, कलेजमा भलिबल निकै खेल्थेँ । रनिङमा पुरस्कार जित्ने गरेकी थिएँ । म्युजिकमा पनि रुचि छ । भ्वायलिन राम्रै बजाउँछु । नयाँ–नयाँ डिजाइनका गहनाहरू कलेक्सन गर्न पनि निकै मन पर्छ, लगाउनमा भने छैन ।
गिटारकी सौखिन हुँ
महिमा सिलवाल, अभिनेत्री
मेरो फेमिली ब्याकग्राउन्ड आर्मी, पुलिस र सरकारी जागिरे भएकाले अभिनयमा नलागेकी भए सायद म आर्मीमा ‘ज्वाइन्ट’ हुन्थेँ । अहिले सेकेन्ड लेफ्टिनेन्ट भइसकेकी हुन्थेँ हेला । फेमिलीले मलाई आर्मी बन्नतिर प्रेरित गरेको थियो । मलाई एक समय नर्स बन्ने इच्छा पनि जागेको थियो ।
मलाई मेकअप र ड्रेसअपमा विशेष रुचि छ । बजारमा नयाँ फेसन आउनेबित्तिकै लिइहाल्छु । त्यसबाहेक म गिटारकी सौखिन हुँ । कहिलेकाहीँ बजाउने पनि गरेकी छु । अब त कलाकारिताबाहेक अरू केही सोच्न सक्दिनँ । नयाँ पत्रिका।








