सेन्ट जज माइग्रेन्ट सेन्टर(एसजि एमआरसी)का नवनिर्वाचित बोर्ड अफ निर्देशक चुरामणी बेलबासेसँग असनेपालन्यूजसँग गरिएको कुराकानीः
सेन्ट जज माइग्रेन्ट सेन्टर(एसजि एमआरसी)मा Board of Director निर्वाचित हुनु भएको छ, त्यहाँका कामहरू के के हुन्?
यो बिशुद्ध वेलफेयर सेन्टर हो । यहाँ समूदायका लागि विभिन्न क्रियाकलापहरू हुने गर्दछन् । हरेक शनिबार योगा, ध्यान लगायतका गतिविधिहरू गर्ने गर्दछौं। आइतबारको दिनमा बच्चाहरूका लागि नृत्य कक्षा सञ्चालन पनि गर्ने गर्दछौं। यी सवै गतिविधिहरू निःशुल्क रूपमा उपलव्ध गराएका छौं । त्यस्तै समय– समयमा बुबाआमाहरूलाई भेटघाट गर्ने तथा स्ट्रेस मेनेजमेन्ट, घरेलू हिँसा रोक्ने उपाय आदिका विषयमा छलफल हुने गर्दछ । पछिल्लो समय यहाँ नेपाली समूदायको सहभागिता बृद्धि हुन थालेको छ । त्यही भएर यहाँको व्यवस्थापनले नेपाली समूदायबाट पनि नेतृत्वमा आइदिए नीति निर्माणमा सजिलो पुग्थ्यो भन्ने आसय व्यक्त गरेको हुनाले हामीले बोर्डमै गएर योगदान किन नपुर्याउने भनेर म बोर्डअफ् डाइरेक्टर चुनिएको हुँ ।
नेपाली समूदायलाई संस्थाले के–कस्तो लाभ पुर्याउँछ?
नेपालीहरू अस्ट्रेलियाको विभिन्न ठाउँमा पुगेका छन् । अब हामी समूदायसँग प्रत्यक्ष जोडिएका स्थानहरूमा नेतृत्वमा किन नजाने भन्ने कुरा नै प्रमुख हो। यो ३५ वर्ष देखि सञ्चालनमा आएको संस्था पनि हो। हाम्रा लागि संस्थामा कसरी सहयोग प्राप्त हुन्छ र त्यो कसरी युटिलाइज हुन्छ भन्ने कुरा सिक्ने अवसर पनि हो ।
त्यसमा गएपछि हामीले के गर्दा फाइदा हुन्छ? हाम्रो समूदायको बृहत्तर हितका लागि उपयोग गर्न सकिन्छ त्यो बारेमा हामीले विशेष ध्यान पुर्याउँछौं।
यो अस्ट्रेलियाका नेपालीका लागि निकै गौरबको कुरा हो, कसरी त्यहाँ पुग्नु भयो?
हामी त्यहाँ विगत लामो समय देखि ‘काम गर्नु फलको आश नगर्नु’ भन्ने शैलीमा काम गरिरहेका थियौं। त्यो निस्वार्थ सामाजिक सेवा नै थियो । पछिल्लो समय त्यहाँको व्यवस्थापन हाम्रो कामबाट निकै प्रभावित भएका थियो । उनीहरूले बाहिरबाट यसरी काम गरिराखेका छन्, बोर्डमै ल्याइयो भने उनीहरूले दिने योगदानमा झन् ठूलो भूमिका हुन्छ होला भन्ने अपेक्षा गरे ।
त्यहाको १२ जनाको बोर्ड मेम्बरको लागि १६ जनाको उम्मेदवारी परेको थियो । हामी नेपालीको काम देखेर धेरै उत्साहित भएर हामीलाई मतदान गर्ने अवस्था बन्यो।
अस्ट्रेलियामा नेपालीको उपस्थिति कस्तो छ?
नेपालीहरू शान्त छन् । अस्ट्रेलियाका मानिसहरूले हामीलाई त्यही रूपमा बुझेका छन् । उनीहरूले प्रायः भन्ने गर्दछन्, नेपालीहरू निकै भलाद्मी छन् । उनीहरू हुलदंंगा गर्दैनन् । तथापी हामी माइग्रेन्ट भएर यहाँ आएका छौं । हामीलाई थुप्रै कुराहरूको अभाव छ । खेलुकद लगायतका अन्य क्षेत्रमा हामीले कसरी अघि बढ्ने भन्ने विषयमा सोचिरहेका छौं । म नेपाली समूदायलाई विश्वास दिलाउन चाहन्छु कि संस्था मार्फत हामी समूदायलाई बढी भन्दा बढी लाभ पुग्ने काम अवश्य पनि गर्ने छौं ।








