विराटनगर, भारतले गरेको अघोषित नाकाबन्दीलाई समेत आफूहरुले नै नेपालमाथि नाकाबन्दी गरेको बताउने मधेसी मोर्चाका कार्यकर्ताहरु मानवता समेत भुलेर हिंस्रक बन्न थालेको खबर प्राप्त भएको छ।
नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव गराइरहेका बेला औषधी ल्याउन दिने निर्णय गरेकै भोलिपल्टै औषधी बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन् भने विराटनगरमा बालक र महिलामाथि सांघातिक आक्रमण गरेका छन् ।
रडसहितका हातहतियार लिएर प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले विराटनगरमा महिला र बालकमाथि आक्रमण गरेर बेहोस बनाएका हुन् ।
मोर्चाका कार्यकर्ताले विराटनगर–७ शिवमन्दिरमा एक बालकमाथि रड प्रहार गरेका छन् । घाइते बालकको होस नखुलेका कारण अझै नाम खुल्न सकेको छैन ।
यस्तै विराटनगरकै महावीर रोडमा मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेकी एक महिलालाई तानेर मोर्चाका कार्यकर्ताले कुटपिट गरेका थिए । आक्रमणबाट बेहोस भएकी उनलाई आफन्तले उपचारपछि घर लगेका छन् । घाइते महिलाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बालक र महिलामाथि आक्रमण गर्ने, सवारी साधन तोडफोड गर्ने र बजार पसल बन्द गराउदै हिंडेका मोर्चाका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।








