धरौटीमा छुटे खेलाडी

nepal-match-fixingकात्तिक २५ । काठमाडौं, जन्मकैद माग दाबी गरि राज्यविरुद्धको अपराध मुद्दा चलाइएका खेलाडी २७ दिनपछि धरौटीमा छुटेका छन् । बिशेष अदालतले उनीहरुलाई मंगलबार धरौटीमा छाड्ने आदेश दिएको हो, नयाँ पत्रिका लेख्छ।

अदालतको आदेशपछि उनीहरु खुशी हुँदै अबिर र खादा लगाएर उनीहरु छुटेका छन् । अदालतले अञ्जन केसी र रितेश थापालाई ५/५ लाख, सागर थापालाई १ लाख ५० हजार तथा सन्दीप राई र विकाससिंह क्षेत्रीलाई ५०/५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो । मंगलबार नै धरौटी राखेर पाँचै जना रिहा भएका छन् । धरौटी राखेर छुटेपछि परिवार तथा आफन्तले उनीहरुलाई अबिर र खादा लगाइदिएका थिए ।

अञ्जन र रितेशले बिदेशी म्याच फिक्सरबाट पटक पटक पैसा लिएको प्रमाण प्रहरीले अदालतमा पेश गरेको थियो । सोही आधारमा उनीहरुलाई धेरै धरौटी माग गरिएको हो । अन्यको हकमा प्रहरीसँग बलियो प्रमाण थिएन । थापा कप्तान भएकाले उनलाई एक लाख ५० हजार धरौटी मागिएको हो ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत आइतबार राज्यविरुद्धको अपराधको राज्यविप्लवसम्बन्धि मुद्दा दायर गरेको थियो । राज्यविरुद्धको अपराध ऐनको दफा ३.१ अनुसार जन्मकैदको माग गरी मुद्दा दायर गरीएको थियो । सामान्य अवस्थामा ३ वर्षभन्दा धेरै कैद सजाय हुने अपराधमा अदातलले थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिन्छ । धरौटीमा छाड्नुको अर्थ उनीहरुले उन्मुक्ति पाए भन्ने होइन । प्रहरीले केही बलिया प्रमाण पेश गराकाले नै अदालतले धरौटी लिएर मात्र रिहा गर्ने आदेश दिएको थियो । अपराधमा संलग्ताअनुसार नै अदालतले धरौटी माग गरेको छ । पर्याप्त प्रमाण संकलन गर्न सकेमा उनीहरुलाई पछि कैद सजायको फैसला पनि हुनसक्छ ।

राज्यविरुद्धको अपराध तथा सजाय ऐन २०४६ मा म्याच फिक्सिङसम्बन्धि प्रष्ट प्रावधान छैन । राजनीतिक विषयलाई मात्र आधार बनाएकाले अभियुक्त खेलाडीहरुलाई केही राहत भएको हो । यसले अब म्याच फिक्सिङसम्बन्धि छुट्टै कानुन बनाउन वा राज्यविरुद्धको अपराध ऐन संशोधन गर्न दबाब परेको छ ।

राज्यविरुद्धको अपराध तथा सजाय ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ, ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैद हुनेछ ।’ बिदेशी गिरोहसँग पैसा लिएर मिलेमतोमा विपक्षी देशलाई जिताएर देशको सर्वाभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पारेको दाबी सहित खेलाडीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो । तर उक्त प्रावधानले म्याच फिक्सिङलाई समेट्ने नसमेट्ने ऐनमा प्रष्ट प्रावधान छैन । ऐनमा कतैपनि म्याच फिक्सिङसम्बन्धि प्रावधान उल्लेख छैन ।
कम्तीमा ६ वटा अन्तराष्ट्रिय प्रतिस्पर्धामा म्याच फिक्सरसँग पैसा लिएर नेपाली खेलाडीहरुले अरुलाई जिताएका थिए । जसमा पक्राउ परेकाबाहेक अरु पनि संलग्न रहेको छन् । अरुमाथि पनि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

सम्बन्धित शिर्षकहरु