कात्तिक २४ । काठमाडौं, ओली सरकारमा मन्त्रालयभन्दा मन्त्री धेरै भएपछि पुल्चोकस्थित मन्त्रीहरुको सरकारी निवास परिसरमा गाईजात्रा सुरु भएको छ । सक्नेले थर्काएर रोजेको क्वार्टर लिने र नसक्नेले चूप लागेर अन्तै डेरा खोज्नुपर्ने स्थिति भएपछि त्यस्तो गाईजात्रा चलेको हो ।
पहिलोचरणमा मन्त्री भएकामध्ये सबैजसोले रोजी–रोजी सुविधासम्पन्न क्वार्टर पाए । तर, दोस्रो चरणमा उपप्रधानमन्त्री र मन्त्री हुनेहरुको भने बेहाल छ । दुई कोठे डेरामा २५ वर्षदेखि गुजारा चलाउँदै आएका उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मन्त्री भएको धेरै दिन बितिसक्दा समेत कोठाबाटै काम चलाउनुपरेको छ । उनले न पुल्चोकमा क्वार्टर पाए, न भनेजस्तो डेरा नै भेटेका छन् ।
उपप्रधान तथा रक्षामन्त्री भीम रावल निवर्तमान गृहमन्त्री वामदेव गौतमबाट फोन गराएर ब्लक डी को ५ नम्बरको क्वार्टर सरेका छन् । अर्का उपप्रधान तथा महिला तथा बालबालिकामन्त्री सिपी मैनालीले भने चाबहिलस्थित आफ्नै घरमा बस्ने निर्णय गरेका छन् । क्वार्टरका लागि मन्त्रीबीच हानाथाप चलेपछि पुल्चोकमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारले सामान लगेर राखेका छन् । उनी आफूचाहिँ छठपछि मात्रै सर्ने भएका छन् । दृष्टि साप्ताहिकबाट








