एक–दुई दिनभित्रै नाकाबन्दी खुकुलो हुन्छ : प्रधानमन्त्री

kp-oli1-480x330कात्तिक २३ । काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लगाउँदै आएको नाकाबन्दी एक–दुई दिनभित्रै केही सहज हुने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार आधा दर्जन मन्त्री र सचिवहरूलाई बालुवाटार बोलाएर एक–दुई दिनभित्रै भारतले नाकाबन्दी खुकुलो पार्ने जानकारी गराएका हुन्,नयाँ पत्रिका लेख्छ

प्रधानमन्त्री ओलीले वाणिज्य तथा आपूर्तिमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र ती मन्त्रालयका सचिवहरूलाई बालुवाटार बोलाएर ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था र वैकल्पिक उपाय कसरी खोज्न सकिन्छ भन्नेबारेमा छलफल गरेका थिए ।

भारतले नाकाबन्दी केही खुकुलो गर्दै लगे पनि हाम्रो संरचना र साधन–स्रोत चुस्त–दुरुस्त राख्न नसके समस्या रहिरहने भन्दै प्रधानमन्त्री ओलीले सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवलाई चुुस्त–दुरुस्त बनाउन निर्देशन दिएका थिए । ‘मैले विभिन्न माध्यममार्फत कुराकानी गर्दा भारतले लगाउँदै आएको नाकाबन्दी अब एक–दुई दिनभित्रै खुकुलो हुने संकेत पाएको छु,’ आइतबार मन्त्री र सचिवहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले भने । आपूर्ति व्यवस्था सहज बनाउन सरोकारवाला निकाय सशक्त रूपमा कार्यक्षेत्रमा खट्नुपर्ने ओलीको भनाइ थियो । ‘मैले पाएको जानकारीअनुसार अब भारतले लगाउँदै आएको नाकाबन्दी एक–दुई दिनमै हट्दै जानेछ, तपाईंहरू नाका खुल्नासाथ कसरी वस्तुहरू फटाफट ल्याउने भन्नेमा आजैदेखि जुट्नुहोस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सचिवले नयाँ पत्रिकासँग भने ।
प्रधानमन्त्री ओलीले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिबारे हालसम्म वैकल्पिक उपायको खोजी गर्न नसकेका सम्बन्धमा मन्त्री र सचिवहरूसँग जानकारी माग गरेका थिए । छलफलका क्रममा ओलीले वैकल्पिक व्यवस्था अपनाएर भए पनि छिटोभन्दा छिटो ग्यास र पेट्रोलियम पदार्थको व्यवस्था मिलाउन निर्देशन दिए । प्रधानमन्त्रीले सरकारप्रति जनताको निराशा बढ्न नदिन आपूर्ति व्यवस्था छिटोभन्दा छिटो सहज बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सरकारका सरोकारवाला निकायले आपूर्ति व्यवस्था सहज बनाउन प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयलगायतका सचिवहरूले हाल इन्धन र ग्यास आपूर्ति सहज बनाउन भइरहेको विषयबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री केपी ओलीले एक–दुई दिनभित्रै नाकाबन्दी खुकुलो हुने बताएका छन् । आइतबार बालुवाटारमा आपूर्ति, अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधारमन्त्री र ती मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै उनले त्यस्तो संकेत आफूले पाएको बताए । ‘मैले विभिन्न माध्यममार्फत कुराकानी गर्दा एक–दुईभित्रै नाकाबन्दी केही खुकुलो हुने संकेत पाएको छु, त्यसपछि क्रमश: सहज वातावरण बन्दै जान्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सचिवले भने, ‘तपाईंहरू नाका खुल्नासाथ कसरी वस्तुहरू फटाफट ल्याउने भन्नेमा आजैदेखि जुट्नुहोस् ।’

नाकाबन्दीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण
राष्ट्रिय मानवअधिकार आयोगले भारतीय नाकाबन्दीका कारण नेपालमा देखापरेको समस्याले मानवीय संकट उत्पन्न भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै आयोगले देशमा उत्पन्न मानवीय संकटसँगै मानवअधिकारमा गम्भीर प्रभाव परेको नेपाल सरकार, आन्दोलनरत पक्ष र अन्तर्राष्ट्रिय समुदायको एकसाथ ध्यानाकर्षण गराएको हो । आयोगले मानवअधिकार संस्थाहरूको एसिया प्रशान्त क्षेत्रीय मञ्च, अन्तर्राष्ट्रिय समन्वय समिति र मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयमा पत्र पठाएर संकटबारे जानकारी गराएको छ ।

मानवीय संकट, जीवनको अधिकार, बालअधिकार, स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक र सांस्कृतिक, पेसा व्यवसाय, खाद्यान्नलगायतका मानवअधिकारमा गम्भीर प्रभाव परेको उल्लेख गरेको छ ।

काँकडभिट्टाबाट ३५ ट्यांकर भित्रिए
आइतबार साँझ पेट्रोलियम पदार्थ लोड भएका ३५ ट्यांकर नेपाल भित्रिएका छन् । ६ दिनको अवरोधपछि डिजेलका २४, पेट्रोलका सात, हवाई इन्धनका दुई र मट्टीतेल बोकेका दुई ट्यांकर भित्रिएको मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले बताए । भारतीय अवरोधका कारण ती ट्यांकरहरू सीमापारि पानीट्यांकीमा रोकिएका थिए । यसबाहेक आइतबार १२ कन्टेनरसहित ५० मालबाहक ट्रक पनि भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

भैरहवाबाट पनि थोरै आयो
सुनौली बेलहिया नाकाबाट पनि आइतबार केही पेट्रोलियम पदार्थ भित्रिएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार आइतबार पेट्रोलका पाँच, डिजेलका तीन ट्यांकर र ग्यासका दुई बुलेट भित्रिएका छन् । पेट्रोलियम पदार्थका सवारीसाधन बेलुका आठ बजेपछि भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

चीनबाट चार लाख लिटर पेट्रोल आयो, बाँकी एक सातामै आउने
चीनले अनुदानमा दिएको हजार टन (१३ लाख लिटर) पेट्रोलमध्ये चार लाख २६ हजार लिटर काठमाडौंको थानकोट डिपोमा ल्याएर वितरण भइसकेको छ । आयल निगमका निर्देशक मुकुन्द घिमिरेका अनुसार थप पेट्रोल लिन आइतबार २१ ट्यांकर केरुङ गएका छन् ।

‘बुधबारदेखि पुन: केरुङबाट पेट्रोल उठाउँछौँ, करिब हप्ता दिनभित्रै बाँकी पेट्रोल ल्याइसक्ने योजना छ,’ उनले भने ।

‘अपूर्ति सहज बनाउन भारत सकारात्मक’
नेपालका लागि भारतीय राजदूत रणजित रायले आपूर्ति व्यवस्था सहज बनाउन भारत सकारात्मक रहेको बताएका छन् । कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलसँग आइतबार भएको भेटमा उनले नेपालको कठिनाइबारे आफूहरू जानकार रहेको भन्दै आपूर्ति सहज बनाउने आश्वासन दिएका हुन् ।

कार्यबाहक सभापति पौडेलले नाकाबन्दीका कारण विद्यालय, अस्पताल प्रभावित हुनुका साथै नेपालीको दैनिक जनजीवन कष्टकर बन्दै गएकाले आपूर्ति व्यवस्था सहज गराउन आग्रह गरेका थिए ।

‘नेपालभित्रको समस्या हाम्रो हो, यहाँको समस्या हामी आफैँ समाधान गर्छौँ, बाहिरबाट आउने सामानमा भएको रोकावट सहज र खुला होस्,’ राजदूत रायसँग पौडेलले भने ।

सम्बन्धित शिर्षकहरु