संविधान संशोधनमा कांग्रेस दबाब,अघि नबढाए रोस्ट्रम घेर्ने

congressकात्तिक २२ । काठमाडौं, नेपाली कांग्रेसले तराई–मधेसको समस्या समाधान गर्न भन्दै संसदमा दर्ता संविधान संशोधन प्रस्ताव तत्काल अघि बढाउन सरकारलाई दबाब दिने भएको छ।कांग्रेस संसदीय दलको आइतबार बिहान बस्ने बैठकले तराई–मधेसको समस्या समाधान गर्न आग्रह गर्दै कांग्रेस नेतृत्वको तत्कालीन सरकारले दर्ता गराएको संशोधन प्रस्ताव अघि बढाउन दबाब दिने निर्णय लिँदैछ । बैठक आइतबार बिहान ९ बजे डाकिएको छ, नागरिक दैनिक लेख्छ ।

मधेसको समस्या समाधानका साथै संविधान संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसले आइतबार बस्ने व्यवस्थापिका संसद बैठकमा आवाज उठाउनेछ । सरकारले संशोधन प्रक्रियालाई अघि नबढाए कांग्रेसले रोस्ट्रम घेराउसहितका दबाबमूलक कार्यक्रम गर्ने तयारीसमेत गरेको छ।

‘संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसले संसदीय अभ्यासभित्रका सबै प्रक्रिया अवलम्बन गर्नेछ,’ कांग्रेस केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले नागरिकसँग भने, ‘तराई–मधेसका समस्या तत्काल समाधान गर्नुको विकल्प छैन।’ प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी शीर्ष नेताको प्रतिबद्धताअनुसार सुशील कोइराला नेतृत्व सरकारले समावेशिता, समानुपातिक सहभागिता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव दर्ता गराइसकेको छ। तर, एमाले नेतृत्वको सरकार संविधान संशोधनको उक्त प्रस्तावप्रति गम्भीर नभएको ठहर गर्दै कांग्रेस केन्द्रीय समिति बैठकले संशोधन प्रस्ताव अघि बढाउन संसदमा दबाबमूलक कार्यक्रम अघि बढाउनुका साथै संशोधनका पक्षमा जनमत निर्माण गर्ने निर्णय यसअघि नै लिइसकेको छ।

पार्टीले मातहत सबै निकायलाई यसबारे निर्देशनसमेत दिइसकेको छ। यसैबीच, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत राजनीतिक दलहरूलाई संसदबाटै समाधान खोज्न आग्रह गरेका छन्। कांग्रेस कार्यवाहक सभापतिसमेत रहेका पौडेलले शनिबार अपिल जारी गर्दै जनताप्रति जिम्मेवार बन्दै संसदमा फर्कन आग्रह गरेका हुन्।

‘तराई–मधेसमा आन्दोलनरत दलहरूले जनताप्रतिको जिम्मेवारीबोध गरी संसदमा आएर आफ्ना विचार राख्दै संसदबाटै समाधान खोज्न कांग्रेस हार्दिक अपिल गर्दछ,’ पौडेलको अपिलमा भनिएको छ, ‘संसदलाई सबै समस्याको समाधान खोज्ने थलोका रूपमा विकसित गरी पहिलो चरणमा संविधान संशोधनका लागि पहल गरी संसदबाट समाधान खोज्दा राष्ट्र र जनताप्रतिको जिम्मेवारी बहन हुने कांग्रेसको ठहर छ।’

संसदबाट खोजिने हरेक समाधानमा कांग्रेस तराई–मधेसका जायज माग सम्बोधन गर्न तयार रहेको अपिलमा उल्लेख छ। लामो समयदेखि जारी आन्दोलनले तराई–मधेस मात्र नभएर सिंगो मुलुक आक्रान्त बनेको उल्लेख गर्दै पौडेलले जारी आन्दोलनले आम नागरिकको जीवनयापनसमेत कष्टकर बन्दै गएको जनाएका छन्।

‘पार्टी तराई–मधेसमा देखिएका समस्या समाधानका लागि सधैं तयार रहेको जानकारी गराउँदै कांग्रेस नेतृत्व सरकारले अन्तरिम संविधानमा समावेश भएका तर संविधानसभाबाट जारी नयाँ संविधानमा छुटेका समावेशी र समानुपातिक सहभागिता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराइसकेको समेत स्मरण गराउन चाहन्छु,’ अपिलमा भनिएको छ, ‘संविधान संशोधन प्रस्ताव अगाडि बढाउनका लागि आगामी संसद बैठकबाट पहल सुरु गर्ने निर्णयसमेत कांग्रेस केन्द्रीय समिति बैठकले गरिसकेको छ।’

सम्बन्धित शिर्षकहरु