कात्तिक १० । काठमाडौँ, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नाकाबन्दीका कारण नेपालमा उत्पन्न इन्धन संकटबारे बारम्बार ध्यानाकर्षण गराउँदा पनि भारतले कुनै सुनुवाइ नगरेको बताएका छन्, अन्नपूर्ण दैनिकले लेखेको छ ।
अन्नपूर्णसँग कुराकानी गर्दै राजदूत उपाध्यायले भारतीय अधिकारीहरूसमक्ष नेपालतर्फ इन्धन र उपभोग्य सामान आपूर्ति सहज पारिदिन आग्रह गरिए पनि अहिलेसम्म कुनै प्रगति नभएको भन्दै रोष पोखे। एक महिनायता भारतले लादेको नाकाबन्दीका बीच राजदूत उपाध्यायको पछिल्लो प्रतिक्रिया आएको हो।
उपाध्यायले भारतीयहरूको मानसिकता नियन्त्रित संयन्त्र (कन्ट्रोल्ड मेकानिजम) बाट ग्रसित रहेको आफूले पाएको उल्लेख गर्दै भारतका राज्य संयन्त्रहरू नेपालसँगको द्विपक्षीय सम्बन्धमा उत्तिकै जिम्मेवार रहेको बताए।
भारतीय संयन्त्रबाट दुई देशबीचको अहिलेको वास्तविक समस्या हल हुन नसकेको उनले उल्लेख गरे। मौखिक रूपमा भारतीय सरकारी संयन्त्रहरूबाट प्रतिबद्धता आए पनि व्यवहारमा लागू हुने नगरेको उनले बताए।’नाकाबन्दी कायमै रह्यो भने नेपालमा मानवीय संकट उत्पन्न हुनेछ। त्यो स्थितिमा इन्धन संकट अन्त्य गर्न नेपालले जुनसुकै विदेशी मुलुकबाट इन्धन ल्याउन बाध्य हुनेछ’, राजदूत उपाध्यायले भने।
उत्तरी छिमेकी चीनबाट इन्धन ल्याउने नेपालको तयारीबारे हालसम्म भारतीय पक्षले औपचारिक रूपमा चासो नदेखाएको उनले बताए।मधेस केन्द्रित दलले अवरोध नगरेकाबाहेक अन्य सीमानाकाहरूबाट इन्धन र उपभोग्य सामान आपूर्तिको व्यवस्था मिलाइदिन आफूले भारतीय विदेश मन्त्रालयका अधिकारीहरूलाई आग्रह गरे पनि त्यसो हुन नसकेको राजदूत उपाध्यायले बताए।
भारतीय अधिकारीहरूसमक्ष नेपालतर्फ इन्धन र उपभोग्य सामग्री ल्याउने भारतीय ट्रकहरूको पूर्ण सुरक्षा नेपालले लिने आफूहरूले पटकपटक सुनिश्चितता गरेको उपाध्यायले स्मरण गरे।यसैबीच भारतीय विदेश मन्त्रालयका एक अधिकारीले नाकाबन्दी तत्काल नहट्ने स्पष्ट संकेत गर्दै ‘रिरुटिङ’ गरेर अन्य नाकाबाट इन्धन दिन भारतको केन्द्रीय सरकारले निर्देशन दिएको दाबी गरे।
‘केही प्रक्रियागत समस्याका कारण रिरुटिङ गरेर नेपालतिर इन्धन आपूर्ति गर्न समस्या आएको हुनसक्छ’, ती अधिकारीले भने।यसअघि आइतबार संसद् बैठकमा बोल्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले गत साता भारतीय अधिकारीहरूले आफूसँग नेपाललाई इन्धन र उपभोग्य वस्तुको सहज रूपमा आपूर्ति मिलाउने आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका थिए।
गत साता भारत भ्रमणका क्रममा मन्त्री थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहलाई इन्धन र उपभोग्य वस्तुको आपूर्ति चाँडै सहज पारिदिन आग्रह गरेका थिए।








