असोज ३०। काठमाडौँ, पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएको ६ दिनसम्म पनि एमालेले बाँकी मन्त्रीहरूको टुंगो लगाउन सकेको छैन । पार्टीमा संस्थागत रूपमा छलफल र निर्णय नगरी प्रधानमन्त्री ओलीले एमालेबाट तीनजनालाई मन्त्री नियुक्त गरे पनि अरू मन्त्रीबारे सामान्य छलफलसमेत नहुँदा मन्त्रीका आकांक्षीहरूको पार्टी शीर्ष नेताहरूको निवासमा भीड लाग्न थालेको छ, आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
कांग्रेस नेतृत्वको अघिल्लो सरकारमा संस्थागत निर्णय नगरी मन्त्री पठाउने र फेर्ने गरेका कारण पार्टीभित्रैबाट आलोचित ओलीलाई यसपटक पहिलो गाँसमै ढुंगा लागेको छ । अनौपचारिक छलफलमा पार्टीका शीर्ष नेताले विरोध गर्दागर्दै अग्नि खरेललाई मन्त्री बनाएका कारण सुरु भएको ओलीको आलोचना उनी प्रधानमन्त्री भएपछि बिहीबार पहिलोपटक बसेको स्थायी समिति बैठकमा पनि रोकिएन । उपमहासचिव घनश्याम भुसालले मन्त्री चयन विधिप्रति असहमति प्रकट गर्दै मन्त्री नियुक्तिको निर्णय अनुमोदन नगर्न रिजर्भेसन राखे । उक्त निर्णयको अनुमोदन होइन, मन्त्री हुने साथीहरूलाई धन्यवाद दिने निर्णय गरौँ भन्ने भुसालको भनाइ रहेको बैठकमा सहभागी एक सहभागीले बताए ।
बैठकमा मन्त्री र मन्त्रालयको बाँडफाँडको विषयमा कुरै उठेन । मन्त्री बनाउनुअघि निश्चित मापदण्ड बनाउनुपर्नेमा बैठक केन्द्रित भएको थियो ।
स्रोतका अनुसार एमालेले नौवटा मन्त्रालय पाउनेछ । कानुन, उद्योग र अहिलेलाई विनाविभागीय गरी तीन मन्त्रीको टुंगो लगाइसकेको छ । बाँकी ६ जनामा एकजना महिला र जनजातिलाई ल्याउनैपर्ने हुन्छ । बाँकी चारजनामा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेल मन्त्री बन्ने पक्का भइसकेको स्रोतको दाबी छ । बाँकी कसलाई छान्ने भन्ने विवादका कारण मन्त्रिमण्डलमा विस्तार हुन ढिलाइ हुन पुगेको एमाले उच्च स्रोतले बतायो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली २८ असोजमा दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्ने मुडमा थिए । तर, एकातिर सत्तासाझेदार दलबीच बाँडफाँड टुंगो नलाग्दा र अर्काेतर्फ पार्टीभित्रै कसलाई मन्त्री बनाउने बन्ने समस्याले मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भएको हो । संसद्मा पहिलो ठूलो दल कांग्रेस प्रतिपक्षमा बसेको अवस्थामा सत्तारुढ दलहरूबीच राष्ट्रपति, उपराष्ट्रपतिको बाँडफाँड पनि टुंग्याउनुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तार अझै केही दिन धकेलिने बुझिएको छ ।
अरू पार्टीले मन्त्रीहरू पठाए पनि एमालेबाट मन्त्री हुनेको टुंगो राष्ट्रपतिको निर्वाचनपछि लाग्ने सम्भावना रहेको स्थायी समितिका एक सदस्यले बताए । मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा मन्त्रीका आकांक्षीहरूको लर्काे भने बढेको छ । एकजना महिलाका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जयन्ती राई, श्रीमाया थकालीलगायतको नाम चर्चामा छ । यीमध्ये जो भए पनि जनजाति अनुहार पनि समावेश हुनेछ । सम्भावित मन्त्रीहरूको नाम शीर्ष नेताहरूले खल्तीमा बोकेर हिँडेको स्रोतले बतायो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रोजाइमा शेरधन राई, रामेश्वर फुँयाल, भानुभक्त ढकाललगायत छन् । झापाका अग्नि खरेललाई मन्त्री बनाइसकेको हुनाले त्यहाँबाट प्रत्यक्ष चुनाव जितेका र उनकै गुटका दीपक कार्की लगभग मन्त्रीको रिङबाट बाहिरिएका छन् । वरिष्ठ नेता झलनाथ खनालले मन्त्रीका लागि राजेन्द्र पाण्डेलाई बोकेर हिँडेको चर्चा एमाले वृत्तमा छ । त्यस्तै, अर्का नेता माधवकुमार नेपालको जोड पशुपति चौलागाईं, शत्रुघन महतो, प्रकाश ज्वालालगायतलाई मन्त्री बनाउनेमा छ । उपाध्यक्ष वामदेव गौतमको रोजाइमा रवीन्द्र अधिकारी परेका छन् भने महासचिव ईश्वर पोखरेलले रसुवाबाट पहिलोपटक एमालेलाई जिताएका जनार्दन ढकाललाई मन्त्री बनाउन चाहेका छन् । यसबाहेक मञ्जु चौधरी, रामदयाल मण्डल, यज्ञराज सुनुवार, प्रेम आले, गणेश ठगुन्ना, मोहन बानियाँ, रामप्रीत पासवानलगायतको नाममा पनि एमाले शीर्ष नेताबीच अनौपचारिक कुराकानी भइरहेको स्रोतले बतायो।








