रणभुल्लमा एमाओवादी

ucpn-maoistअसोज २८ । काठमाडौँ, प्रधानमन्त्री निर्वाचित भएको चार दिन बितिसक्दा पनि प्रमुख सत्तासाझेदार एकीकृत माओवादीले मन्त्रीहरूको नाम तय गर्न सकेको छैन । सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने र सभामुख को बन्ने भन्नेमा एमाओवादीमा विवाद छ । आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

सभामुखको उम्मेदवार र मन्त्रीहरूको नाम टुंग्याउन बुधबार बिहान पार्टी अध्यक्ष प्रचण्डनिवास लाजिम्पाटमा बसेको बैठक अनिर्णीत भएको छ । चार घन्टा चलेको बैठकमा विवाद मात्र भएको छ । एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भने कृषिमन्त्रीको शपथ लिइसकेका छन् ।

अध्यक्ष प्रचण्ड महासचिव कृष्णबहादुर महरालाई सभामुख र सचिव टोपबहादुर रायमाझीलाई पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा पठाउने तयारीमा थिए । तर, महराले सभामुखमा जान अस्वीकार गरेपछि समस्या भएको एक नेताले बताए ।

महराले सभामुख अस्वीकार गरेपछि उनकै नेतृत्वमा सरकारमा जान अध्यक्ष प्रचण्डलाई दबाब बढेको छ । केही पोलिटब्युरो र केन्द्रीय सदस्यले समेत महराकै नेतृत्वमा सरकारमा जानुपर्ने मत राखेको एमाओवादी स्रोतले बतायो । सचिव रायमाझीले आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने अडान कायमै राखेका छन् ।

अर्का सचिव गिरिराजमणि पोखरेलले समेत सभामुख पद अस्वीकार गर्दै पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जान इच्छा देखाएका छन् । महराले अस्वीकार गरेपछि सभामुखमा जान प्रचण्डले पोखरेललाई प्रस्ताव गरेका थिए ।
महरा, रायमाझी र पोखरेलले आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने दाबी गरेपछि कसको नेतृत्वमा पठाउने भन्ने समस्यामा अध्यक्ष प्रचण्ड छन् । महरा अध्यक्ष प्रचण्डनिकट र पोखरेल उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन् । रायमाझी भने डा। बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुअघिसम्म उनी निकट थिए । भट्टराईको पार्टी परित्यागलाई रायमाझीले गलत कदम भन्दै आएका छन् ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड महराकै नेतृत्वमा सरकारमा सहभागी हुने निष्कर्षमा पुगेका छन् । सरकारमा जाँदा महराले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय सम्हाल्नेछन् । महरा गएपछि अरूले गृहमन्त्रीको दाबी छाड्ने र सहज हुने प्रचण्डको बुझाइ रहेको स्रोतको भनाइ छ ।

सभामुखको उम्मेदवार र मन्त्रीहरूको नाम तय गर्न अप्ठ्यारो परेपछि प्रचण्डले बुधबार बिहान स्थायी समिति बैठक बोलाएका थिए । बैठकमा स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतबाहेकले आ–आफ्नो धारणा राखेका छन् । सदस्यहरू बोल्नेक्रम सकिएपछि मात्रै निर्णय लिने गरी बुधबारको बैठक बिहीबार बिहान आठ बजेसम्मका लागि स्थगित भएको छ ।
‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबै विषयमा प्याकेजमा छलफल गरिरहेका छौँ,’ बैठकपछि महासचिव महराले भने, ‘भोलि ९बिहीबार० बिहान अन्तिम टुंगो लगाउँछौँ ।’

पार्टीले सभामुखमा उम्मेदवारी दिने जानकारी गराउँदै बिहीबार बिहानसम्म उम्मेदवारको नाम पनि टुंगो लगाउने बताए । ‘सभामुखको निर्वाचन सम्भवतस् भोलि ९बिहीबार० नै हुन्छ । पार्टीले सभामुखमा उम्मेदवारी दिन्छ । कसले उम्मेदवारी दिने भन्ने भोलि बिहान नै टुंग्याउँछौँ,’ महराले भने, ‘सरकारमा नेतृत्व कसले गर्ने भन्ने पनि टुंग्याउँछाँै ।’

स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यले मन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् । बैठकमा सहभागीमध्ये सचिव वर्षमान पुन अनन्त र स्थायी समिति सदस्य देवेन्द्र पौडेलले मात्रै मन्त्रीमा दाबी नरहेको धारणा राखेका थिए ।
स्थायी समितिमा रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा छन् । गोपाल किराती बैठकमा अनुपस्थित रहे भने अर्का स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले पदबाट राजीनामा दिएका छन् । बिहीबार बिहान आठ बजे बस्ने बैठकमा सदस्य शक्तिबहादुर बस्नेतले धारणा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र निर्णय हुने एक सदस्यले जानकारी दिए । स्रोतका अनुसार प्रचण्डले सभामुखको उम्मेदवार, सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्नेसहितका मन्त्रीहरूको नाम प्रस्ताव गर्नेछन् ।

सभामुखमा घर्ती वा शर्मा
एमालेसँगको सहमतिअनुसार एमाओवादीले सभामुखमा बिहीबार उम्मेदवारी दिने भएको छ । एक स्थायी समिति सदस्यका अनुसार सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्ती वा स्थायी समिति सदस्य जनार्दन शर्माको सम्भावना बढी छ ।
सभामुखका लागि महासचिव कृष्णबहादुर महरा, सचिव गिरिराजमणि पोखरेलले अस्वीकार गरेका छन् । उनीहरूले अस्वीकार गरेपछि स्थायी समिति सदस्य जनार्दन शर्माले गृह मन्त्रालय नदिए आफूलाई सभामुखमा पठाउन प्रस्ताव गरेका छन् ।

सम्बन्धित शिर्षकहरु