नाकाबन्दीपछि कति आयो तेल?

tankar-660x330असोज २२ । काठमाडौँ, भारतको नाकाबन्दीपछि मुलुकमा न्यून मात्रामा पेट्रोलियम पदार्थ आयात भएको छ । दुई देशका भन्सार प्रमुख र सुरक्षा अधिकारीबीचको समन्वयमा केही दिनदेखि वीरगन्जबाहेकका नाकाबाट मालबाहक ट्रक र पेट्रोलियम पदार्थ बोकेका ट्यांकर न्यून संख्यामा नेपाल प्रवेश गरेका छन् ।

ग्यास उद्योगीका अनुसार नाकाबन्दीपछि ८२ बुलेट ग्यास नेपाल भित्रिएका छन् । तर, अधिकांश बुलेट पूर्व र सुदूरपश्चिम क्षेत्रका ग्यास उद्योगका हुन् । काठमाडौंमा उपलब्ध ग्यास उद्योगका बुलेट भने न्यून मात्रामा आएका छन् ।

‘सामान्य अवस्थामा दैनिक ६६ बुलेट ग्यास नेपाल आउने गरेको थियो,’ ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘तर, नाकाबन्दी भएको १८ दिनमा जम्मा ८२ बुलेट ग्यास आएको छ ।

काठमाडौंमा उपलब्ध ग्यास कम्पनीका बुलेट नआउँदा झन् समस्या देखिएको छ ।’ संघका अनुसार हालसम्म मेचीबाट १०, बिराटनगरबाट २४, बीरगञ्जबाट २, भैरहवाबाट १८, नेपालगञ्जबाट २२ र धनगढीबाट ६ बुलेट ग्यास आएका छन् । ‘रक्सौलबाट आएका २ बुलेट ग्यास मात्रै काठमाडौंका लागि हुन्’ संघका अध्यक्ष शिवप्रसाद घिमिरले भने, ‘अन्य सबै ग्यास पूर्व र पश्चिम क्षेत्रका उद्योगका हुन् ।’

हाल देशभरका ग्यास उद्योगीसँग ६२ लाख ग्यास सिलिण्डर छन् । त्यसमध्ये उद्योग र बिक्रेताकहाँ करिब १० लाख खाली सिलिण्डर रहेको घिमिरेले बताए । ‘बाँकी सिलिण्डर उपभोक्ताको घर, रेस्टुरेन्ट, होटललगायतमा छन्’ उनले भने, ‘त्यसमा पनि १० प्रतिशत भन्दा बढी खाली भइसकेका छन् ।’

घिमिरेका अनुसार पूर्वका मेची, कन्काई, पराजुली, कोशी, रिजाल्को, सुविधा, प्रिमा र कामख्य ब्राण्डका उद्योगमा ग्यास आएका छन् । जनकपुरमा प्लान्ट रहेको नोबेल ग्यासको पनि केही बुलेट आएको छ । यो ग्यास काठमाडौंमा थोरै परिमाणमा उपलब्ध छ ।

,रक्सौल नाकाबाट त्रिशुल ग्यासका बुलेट आएको छ । त्रिशुल ग्यास केही दिनदेखी काठमाडौं उपत्यकाका सिमिति डिपोबाट बितरण भइरहेको छ । भैंसेपाटीमा रहेको डिपोले त्रिशुल ग्यासका सिलिण्डर उपभोक्तालाई बिहानी पख बितरण गरिरहेको छ । ओम र सिद्धार्थ ग्यास उद्योगका पनि बुलेट आएका छन् । पश्चिम क्षेत्रमा बजार लिइरहेका बुटवल, महालक्ष्मी, राप्ती, मनकामना, भेरी, रोयल ग्यासका बुलेट धेरै आएका छन् ।

सुदुरपश्चिममा राप्ती, मनकामना र भेरी ग्यास उपलब्ध छ । ‘तीन वटै ग्यास उद्योगमा बुलेट आइरहेका कारण सुदुरपश्चिममा अन्यत्र भन्दा कम अभाव देखिएको छ’ घिमिरेले भने । रक्सौल नाकाबाट ग्यास आउन नसक्दा काडमाडौंमा चरम अभाव भएको उनले बताए ।

पेट्रोलरडिजेलका १७९ ट्यांकर भित्रिए
भारतको अघोषित नाकाबन्दीपछि पेट्रोलरडिजेल बोकेका ट्यांकर पनि थोरै संख्यामा नेपाल भित्रिएका छन् । बाणिज्य तथा आपूर्ती मन्त्रालय र भन्सार विभागका अनुसार एक सय ७९ वटा पेट्रोलरडिजेल बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । यसमध्ये पेट्रोलका ९६ ट्यांकर र डिजेलका ८३ ट्यांकर छन् ।

आयल निगमको तथ्यांक अनुसार सामान्य अवस्थामा पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको दैनिक कूल माग ३५ लाख लिटर छ । यति इन्धन ओसार्न २० हजार क्षमताका एक सय ७५ वटा ट्यांकर चाहिन्छ । निगमले १२ हजार लिटरदेखी ३० हजार लिटर क्षमतासम्मका भाडाका ट्यांकरबाट इन्धन ओसार्ने गरेको छ । सामान्य अवस्थामा दैनिक करिब दुई सय ट्यांकरले इन्धन ओसार्ने गरेका थिए ।

काठमाडौंमा कति थपियो ?
भारतको नाकाबन्दीपछि राजधानीमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको अभाव देखिएको छ । उपत्यकामा करिब सात लाख मोटरसाइकल, स्कुटर मात्र रहेको यातायात व्यवस्था विभागको तथ्यांक छ । दुई लाखको संख्यामा कार, जीप, भ्यान छन् । त्यस्तै, डेढ लाख भन्दा बढी सार्वजनिक सवारी छन् ।

बाणिज्य तथा आपूर्ती मन्त्रालयका अनुसार उपत्यकाका लागि निकै कम इन्धन भित्रिएको छ । ‘डिजेल करिब दुई लाख लिटर र पेट्रोल चार लाख लिटर थपिएको छ,’ मन्त्रालयको आपूर्ती महाशाखा प्रमुख शिवप्रसाद त्रिपाठीले भने ।

नेपाल भित्रिएका पेट्रोलरडिजेलका ट्यांकर तराईलगायतका क्षेत्रमा पनि पठाइएको त्रिपाठीले बताए । ‘नेपाल भित्रिएको सबै ट्यांकर काठमाडौं ल्याइएको छैन, तराई लगायतका क्षेत्रमा पनि पठाइएको छ’ उनले भने ।

इन्धन अभावकै कारण उपत्यकामा नेपाल आयल निगमले माग अनुसार पेट्रोलरडिजेल बितरण गर्न सकेको छैन । सामान्य समयको मागको तुलनामा पेट्रोल १० प्रतिशत र डिजेल २० प्रतिशत मात्रै आपूर्ती गर्दै आएको छ । बिहिबार निगमको थानकोट डिपोले पेट्रोल ४४ हजार लिटर र डिजेल एक लाख ६६ हजार लिटर बितरण गरेको डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए । सामान्य समयमा दैनिक पेट्रोल साढे तीन लाख लिटर र डिजेल साढे चार लाख लिटर बितरण हुने गरेको छ ।

आयात सहज बनाउन क्रियाशील रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ती महाशाखा प्रमुख त्रिपाठीले बताए । उनले भने, ‘नाका सहज बनाएर पेट्रोलियम पदार्थका अन्य मालबहाक ट्रकको आयात सहज बनाउन हामी क्रियाशील छौं ।’

पेट्रोलियम आयात गर्न टेण्डर
नेपाल आयल निगमले सामान्य अवस्थाको माग भन्दा थोरै परिमाणमा इन्धन आपूर्ती गर्न टेण्डर गरेको छ । निगमले बिहिबार सार्वजनिक सूचना मार्फत डिजेल २ लाख लिटर, पेट्रोल एक लाख लिटर र मट्टितेल २ लाख लिटर प्रति दिनका दरले आपूर्ती गर्न ग्लोबल टेण्डर आह्वान गरेको हो । खाना पकाउने एलपी ग्यास सय टन आपूर्ती गराउन पनि आह्वान गरिएको छ ।

निगमले तुलनात्मक रूपमा धेरै खपत हुने पेट्रोल भन्दा मट्टितेलको माग धेरै गरेको छ । सरकारले टेण्डर नगरी सोझै आपूर्तीकर्ताको प्रस्ताव लिएर इन्धन खरिद गर्न दिएको निर्देशन पालना गरेको छैन । बुधबार मात्रै मन्त्रालयले जतिसुकै लागत परे पनि आपूर्तीकर्ताबाट सोझै र चाँडै इन्धन झिकाई बिक्री गर्न निर्देशन दिएको थियो ।
‘मन्त्रालयबाट चाँडै इन्धन आपूर्ती गराउने उदेश्यले आपूर्तीकर्ताबाट सोझै इन्धन किन्नु भनेर निर्देशन दिएका थियौं । उसले जतिसुकै लागतमा भएपनि किनोस् र आफैं बिक्री मूल्य निर्धारण गरी नेपाली बजारम इन्धन बिक्री गरोस् भनेर छुट पनि दिएका थियौं’ मन्त्रालय स्रोतले भन्यो, ‘तर बिहिबार एकाएक बोलपत्र आह्वान गरिएको छ । बोलपत्र आह्वानले झन् ढिलो इन्धन आपूर्ती हुनेतर्फ निगमले ख्यालै गरेन ।’

निगमले बुधबार जारी गरेको बोलपत्रको कुनै अर्थ नरहेको संचालक समितिका एक सदस्यले दाबी गरे । ‘चाहिने भन्दा अत्यधिक न्यून मात्रामा इन्धन माग गर्दै बोलपत्र आह्वान गर्नु निगमको नाटक मात्रै हो’ ती सदस्य भन्छन्, ‘निगमले प्रेसरमा काम गर्न जानेकै रहेनछ भन्ने देखियो ।’

नेपाल एयरलाइन्समार्फत् ६६ टन हवाई इन्धन ल्याइयो
नेपाल एयरलाइन्सले बिहीवार चार्टर्ड फ्लाइट गरी भारतको कोलकत्ताबाट ६६ टन हवाई इन्धन नेपाल ल्याएको छ । चाडबाडमा आन्तरिक तथा बाह्य उडान प्रभावित नहोउन् भनेर विशेष उडान गरी हवाई इन्धन भित्राइएको आयल निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए ।

यसअघि निगमले विभिन्न गन्तब्यमा पुगेका बेला ट्याङ्की भरेर इन्धन ल्याउने र त्यसको सट्टा यात्रु सङ्ख्या घटाउने गरेको थियो । दशैंमा स्वदेश फर्कने चाहने यात्रुको अत्यधिक चाँप रहेको र इन्धन उपलब्ध भएसँगै पुरा क्षमतामा यात्रु बोक्न सकिने प्रवक्ता शर्माले बताए ।

निगमले काठमाडौंबाट नजिकको गन्तब्य ४५ मिनेट उडान कोलकत्ताबाट इन्धन ल्याएको हो । सो इन्धन नेपाल आयल निगमको स्टोरेज ट्याङ्कीमा जम्मा गरी उपयोग गरिने छ । आवश्यक परेको अवस्थामा पुनः विशेष उडानमार्फत इन्धन ल्याएर यात्रु् सेवालाई नियमित गर्न सकिने शर्माको भनाइ छ ।समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु